© २०२३
चन्द्रौटा, ११ जेठ ।
“४० महिनाकी छोरीलाई सम्पूर्ण खोप लगाइसकेको छु, स्वास्थ्यकर्मीको हौसला र नियमित सेवाले हामी सुरक्षित महसुस गर्छौँ । सङ्क्रमण हुने विभिन्न रोगबाट बचाएसाथै स्वास्थ्य चौकीबाट खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले एकदमै मेटिभेट गर्नहुन्थ्यो खुसी लागेको छ ।” स्थानीय गंगा पाण्डेले भनिन् ।
बलुहवा गाउँकी स्वयंसेविका मुक्तिरानी थारुका लागि यो काम सामान्य थिएन । “धेरैले सुरूमै अड्याएर खोप नचाहिने भनिहाल्थे,” उनी सम्झिन्छिन्, “तर हामी थाकेनौँ, बुझायौँ, सम्झायौँ अनि बल्ल खोप दिन तयार भयौँ ।” गाउँका हरेक घरका ढोका ढोकामा पुगेर सेवा प्रवाह गरेको उनी बताउँछिन् । हरेक मंगलबार सेवा केन्द्र स्वास्थ्यकर्मी गाउँमै आउँदा स्थानीयलाई केन्द्रमा नै सेवा लिन आग्रह गर्दथिन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ नम्बर वडालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा’ घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनाउँदै लैजान गरी शुक्रवार एक कार्यक्रमका बिच घोषण गरिएको वडा कार्यालयले जनाएको छ ।
चनई स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी गंगा आर्चायले वडालाई पूर्ण खोप सुनिश्चितता गर्नका लागि प्रत्येक आर्थिक वर्षको चैत महिनामा घरधुरी सर्वेक्षण गरेको बत्ताइन् । सर्वेक्षण पश्चात् छुटेका बच्चाहरूलाई वैशाख महिनामा नियमित खोपसँगै लगाएर खोप पूर्ण गर्ने गरेको उनको भनाई छ । स्वास्थ्यकर्मी आर्चायका अनुसार वडा नम्बर ३ मा ० देखि ५९ महिनासम्मको बच्चाहरूको घरधुरी सर्वेक्षण गरिएको छ । जसमा ० देखि १५ महिनासम्मको १६० जना नियमित खोप लगाउने बच्चाहरू रहेका छन् । यस्तै १६ देखि २३ महिनाका ९५ जना बच्चा छन् । २४ देखि ५९ महिनाका ५३७ जना रहेका छन् । १६ देखि २३ महिनाका बच्चा मध्ये खोप खेरा गरेका ६ जना रहेका छन् ।
अन्य स्थानमा गई खोप लगाए नलगाएका थाहा नभएका ६ जना बच्चाहरू रहेको छन् भने पूर्ण खोप गरेका तर अन्यत्र बसाई सरी सम्पर्कमा नरहेका ३ जना बच्चाहरू रहेका गरी जम्मा ८ सय १ जना बच्चाहरूको घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य चौकीको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य चौकी प्रमुख जित बहादुर बिसीले खोज र खोप अभियान सञ्चालन गरी पूर्ण खोप अभियानलाई सार्थकता दिन पाएको बताए । वडाका हरेक गाउँ गाउँमा बच्चाहरूको घरघरमा पुगी सेवा प्रवाह गरी खोप लगाई बच्चाहरूको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । अभियानलाई पूर्णता प्रदान सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै शतप्रतिशत बच्चालाई खोप लगाएको उनले जनाए ।
यता वडा अध्यक्ष टेकलाल सापकोटाले २५ वटा टोलमा हामीले यो अभियान चलाएको बताए । “पूर्ण खोप घोषणा एउटा सुरुआत हो, अब कसैले पनि खोपबाट वञ्चित नहोस् भन्नेमा थप योजना बनाउँछौँ,” उनले भने । उनले ग्रामीण भेगसम्म विशेषज्ञ सेवा विस्तार गर्ने र आधारभूत अस्पतालको गुणस्तर सुधारमा पनि वडा कार्यालयले चासो लिएको उल्लेख गरे । आफ्ना नागरिकहरूलाई कसरी स्वास्थ्य रहन सकिन्छ भन्नेमा आफूहरू निरन्तर लागी परेको उनले बताए । आधारभूत अस्पतालमा समेत विशेषज्ञ सेवा प्रवाह गर्दै आएको बताउँदै ग्रामीण भेगका नागरिकलाई यस्ता खालका क्षेत्रको पहुँचमा ल्याउन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले बताए ।