© २०२३
नेपालमा यो प्रगतिशील भन्ने शब्दले ठूलै भाउ पाएको छ । अझ यो विशेष गरेर माक्र्सवादको सहि मार्गमा हैन मारकसवादको नवमार्गमा कम्युनिष्ट विचाराधारा बोकेका हौँ भन्नेहरूका लागि त गायत्रीमन्त्र जस्तै भएको छ । यी प्रगतिशील भन्नेहरूले व्यवहारमा कुनै नौलो विषय त गरेका देखिँदैनन् । मात्र उही सनातनदेखि चलिआएको जुनसुकै विधिलाई पनि गाली गरेर पश्चिमा शैली भित्राउने मात्र काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरूले प्रगतिशील भनेपनि उनीहरूको व्यवहार भने उही पर अर्थात् पश्चिमी संस्कारमा गतिशील भन्ने नै देखिने हुनाले परगतिशील भनिँदा ठिक हुने देखिन्छ । पर भनेको संस्कृत भाषामा पश्चिम भन्ने अर्थ हुन्छ । उनीहरूलाई जे नगर भनेको छ त्यो गरेमा आफुलाई प्रगतिशील भएको अनुभूति हुन्छ । दाहिने हातले नखाएर देब्रे हातले खानु नै उनीहरूका लागि प्रगतिशील हुने गर्दछ । माथि शीर्षकमैँ सूत्रात्मक तरिकाले भनिपनि सकिएको छ कि आफ्नो पौरस्त्य परम्परा छोडेर पश्चिमा मध्येको पनि अनुशासित खालको नभएर छाडा संस्कृतिमा रम्नु नै प्रगतिशील हो । अझ गहिरिएर बुझ्ने हो भने यो प्रगतिशील भन्ने शब्द सञ्जालभित्र हाम्रो हिन्दू सनातनभित्रको वैदिक, बौद्ध र किराँत संस्कारलाई विस्तारै छोडाएर मान्छेलाई अरू नै पश्चिमतिरबाट आएका धर्म अँगाल्न लगाउनु नै हो ।
विशेषगरेर अन्यत्र पनि यो शब्द प्रयोग भएतापनि अझ विशेषगरेर विवाहका कार्यक्रममा यो प्रगतिशील शब्दले ठूलो बजार पाएको छ । केही दिनअघि त्यस्तै षडयन्त्रमूलक तरिकाले हाम्रा संस्कार र संस्कृति मास्ने निहुँमा एक रुपियाँमा विवाह गराएको भन्ने खालका अनर्गल प्रचार प्रसार पनि गराइएका कुरा छापामा आएका थिए । त्यसका सम्बन्धमा स्वधर्म संस्कार संस्कृतिको रक्षाका लागि अहोरात्र खटिरहनु भएका मोहन लामा रुम्बाले पनि यस कुराको प्रतिकार आफ्ना लेखका माध्यमले गर्नुभएको थियो । त्यस्तैगरेर यसै सिलासिलामा मेरो अनुभवमा रहेको विषय जसलाई वुटवल टुडेले केही समय अगाडि प्रगतिशील कि अधोगतिशील नामको शीर्षकमा पत्रिकाका रूपमा प्रकाशन गरेको पनि थियो । त्यस विषयलाई अनलाइनका माध्यमले पनि सबै जानकार र सुसूचित होउन् भनी केही सम्पादन गरी पुनः राखिएको छ –
अहिले हाम्रो समाजमा विशेषगरेर कम्युनिष्ट दर्शनको हिमायती हुँ भन्नेले प्रगतिशील विवाहप्रति आकर्षित गर्ने गराउने गरेको देखिन्छ । अरू पार्टीकाहरूले पनि यस किसिमका विवाह गर्ने गरेको केही नगन्य रूपमा पाइन्छ । मलाई पनि त्यो प्रगतिशील विवाह भन्ने कस्तो रहेछ ? के त्यहाँ गरगहना आदि सबै वर्जित गरिएको हुँदो रहेछ त ? के त्यहाँ भोज–भतेरका नाममा हुने अनावश्यक खर्च आदिलाई कम गरिएको हुने रहेछ त ? के त्यहाँ पोशाकको अनावश्यक तडक–भडक पनि गरिँदो रहेनछ त ? भन्ने जिज्ञासाले निम्तो अनुसार कसैको विवाहमा गएँ ।
विवाह सुरु हुने भनेको स्थानमा गएर हेरेँ । यज्ञ मण्डप, बाजागाजा केही नदेखेकोले एकछिन त अल्मलिएँ । हैन विवाह कतै रोकिएछ कि भन्ने लाग्यो । पछि विवाह स्थानमा घाँटीमा टाई, कोटमा माक्र्सको फोटो भएको ब्याज र खुट्टामा गोल्डस्टार कम्पनीका जुत्ता लगाएर उभिरहेका पहाडबाट भरखर झरेका जस्ता नौला बुबालाई सोध्दा विवाह यहीँ नै हुने कुरा गर्नुभएकाले म पनि कुरेरै बसेँ । राम्रै मूल्य तिरेर होटलमा राखिएको प्रगतिशील विवाहमा होटलको प्रतीक्षालय कोठामा केही समय कुर्न मलाई खासै गाह्रो भएन ।
एकछिनपछि केटी पक्षका मानिसहरूको भेला हुन थाल्यो । सुटेड बुटेड जेन्टल मेनहरू र सुनका दाम्लाहरूले घाँटी भरिएका लेडिजहरूको उपस्थिति हुन लाग्यो । त्यसको केही समयपछि जन्ती आए । म पनि दुलाहा पक्षको भएकोले जन्तीका पछि लागेँ । दुलाहाका बाबा हाम्रा आफन्ती भएकाले गएर नाता अनुसारको नमन गरेँ । जन्तीहरूको तडकफडक पनि केटी पक्षका मानिसहरूको भन्दा कम थिएन । कहिले पाइन्ट नलगाएका दुलाहाका बुबालाई सुट सहित टाई पनि लगाइदिएर ल्याएको देख्दा अलि नौलो लाग्यो । विवाहमा जन्तीलाई स्वागत कोक, फेन्टा र स्प्राइटले गरियो । एकजना नेता टाइपका मानिस आएर उदघोषण गर्न लागे । विशेष व्यक्तिहरूलाई आसन ग्रहण गराए भने अरू शेष व्यक्तिहरूलाई तलतिरै बस्न आग्रह गरे । पहिलेदेखिकै चिनजानमा दुलाहा दुलहीले एक–अर्कालाई मन पराएरै यो विवाह भएको भएतापनि जन्तीहरूलाई बेकुप बनाउँदै दुलाहाले स्टेजमा गएर दुलहीलाई विवाहको प्रस्ताव गरे । दुलहीले पनि स्टेजमै गएर आफूले पनि स्वीकार गरेको कुरा ओकलिन् । दुलाहा दुलहीबाट माला टीका र औँठी एवं गरगहना साटासाट गर्नेकाम गरियो । अङ्ग्रेजीमा ज्बउउथ ःबचचष्बनभ तय थयग भन्ने शब्द गुञ्जियो । सबैले ताली पिटे । १२ वटा डिस्कमा राखेको माछा, मासु आदिको भतेर चल्यो । आफूलाई नचल्ने भएकोले पानी र जेरी खाएर बसेँ । एकजनाले मुख मिठाउँदै क्या राम्रो व्यवस्था गरेछन्, एकजनालाई १८०० बराबरको खर्च रे भन्दै थिए । हाम्रा सनातन परम्पराका वेदमन्त्र र अग्निविनै विवाह सकियो । वेदका मन्त्र पढेर यज्ञ गर्दा धेरैमा पनि दक्षिणा सहित रु ४५००।–लाग्ने रकम बचाएर प्रगतिशीलको नाटक गरियो ।
मैले केही समय पहिलेदेखि नै लेख्दै आएको छु । नेपाल एवं भारत र अन्य अविकसित स्थानहरूमा कम्युनिष्टहरूको सुरुवात गरिएकै त्यहाँको सनातन परम्परालाई नष्ट गरेर विस्तारै क्रिश्चियनीकरण कै लागि हो । मदन भण्डारीले त्यो कुरा बुझी कम्युनिष्टहरूमा केही संशोधन गरेका थिए । अहिले पनि चाइनाले त्यहाँको सनातन परम्परालाई बचाउँदै लगेकोले उसलाई अमेरिकाको दानापानी खाएका कमनिष्ट (निष्टता नभएका) हरूले चाइनाले प्रजातन्त्र मास्यो भनी विभिन्न माध्यमले आफ्ना कुरा उकेल्ने गरिरहेका छन् । नेपालमा पनि मठ–मन्दिर बनाउने, दौरा सुरुवाल लगाउने कम्युनिष्टलाई दक्षिणपन्थी र प्रतिगमनकारी भन्ने गरिएको प्रत्यक्ष नै छ । संसदमा जाँदापनि नेपालीपनको राष्ट्रिय ड्रेस नलगाईकन कुनै फिरङ्गीको ड्रेसमा विदेशीवाद र भेषभुषाको प्रचार–प्रचार गर्ने र जनता झुक्काउन राष्ट्रियता र देशभक्तिका कुरा गर्नेहरूको कमी छैन । उच्च नेताहरू त उनीहरूले के का लागि वैदिक सभ्यता विरोधि कार्य गर्ने गरेका छन्, उनीहरू स्पष्ट नै छन् । तर कार्यकर्ताहरूलाई केही अत्तोपत्तो छैन । कम्युनिष्टहरूले धेरै बुझेर हो वा बुझ्दै नबुझेर हो ईश्वर नमान्नु भनेको ईश्वरको विरोध गर्नु होइन भन्ने बुझेकै छैनन् । कोही बसबाट यात्रा गर्छ भने त्यसले कारबाट यात्रा गर्नुलाई विरोध गर्छ भन्ने होइन ।
तात्कालिक अवस्थामा कार्लमाक्र्स जन्मेको स्थानमा क्रिश्चियनका पादरीहरूले क्रिश्चियन धर्मको मूल मर्मलाई उल्टा–पाल्टा पारी आफू अनुकूल धर्मको परिभाषा गरी हिँडेकाले उनीहरूको विरोध गरेका हुन् । त्यस समयमा गरीब जनतालाई एक छाक खानु थिएन । तर धनीहरू मोजमस्तीमा रहेका थिए । त्यसैले अहिले स्वर्ग नर्कको कुरा गर्न छाडी पहिले भोकोलाई भोजनको व्यवस्था गर । जनतालाई ईश्वरीय रूपमा देखी सेवा गर भनेका हुन् । ईश्वर छ छैनमा वहस गर्दै हिँड भनेका होइनन् । कुनैपनि धर्मको उद्देश्य चराचर जगतको कल्याण नै हो । भाषा फरक भएपनि सबै धर्मको उद्गम स्थल हिमाल नै हो भनी योगी नरहरिनाथले भन्नुहुन्थ्यो । क्रिश्चियन र मुस्लिम धर्मका पादरी एवं मुल्लाहरूले पनि आफ्ना धर्ममा आफू अनुकूल क्षेपकहरू थप्दा ती धर्महरू भिन्न देखिएका हुन् । हाम्रो वैदिक धर्ममा पनि हाल आएर केही परनामी, रामपाल र रामरहिमहरूले आफू अनुकूल परिभाषा गरिरहेको हामीले देख्दै आएका छौँ । त्यसैले धर्मको मूल कुरा नबुझी आफ्ना ऐस आरामका लागि धर्मको ठेक्का लिएका ठेकेदारहरूको आचरण अनुसार सिङ्गो धर्मको परिभाषा गर्नु भुल हुनेछ ।
एउटा उदाहरणको लागि यहाँ प्रस्तुत गरिएको विवाह जस्तै अन्य महत्वपूर्ण स्थानमा पनि यी प्रगतिशीलहरूले हाम्रो वैदिक सत्य सनातन परम्परालाई कुल्चिँदै सुट टाई लगाउनुलाई नै प्रगति देखेका छन् । त्यही अनुरूप गरिमामय संसदमा उपस्थित हुने गरेका छन् । कुनै कार्यक्रममा कसैको बाध्यताले लगाउनुलाई त्यसरी विरोध गर्न यहाँ खोजिएको होइन । तर सर्वस्व ठानी देशका महत्वपूर्ण स्थानमा पनि दाम्लो लगाएर हिँड्नु गलत हो । सिन्दुर गुन्यु चोली विना विदेशीको ड्रेस लगाएर जानी नजानी थ्भक, ल्ण् र त्जबलप थ्यग भन्नु नै प्रगति देखेका छन् । पूर्व प्रधानमन्त्री र वर्तमान मन्त्रीहरूलाई पनि नेपाली ड्रेसको ख्याल छैन । सनातनदेखि चलिआएको मन्दिरमा वेदमन्त्र गुञ्जिँदा उनीहरूको निद्रा विग्रन्छ तर दिनको तीनपटक माइकबाट गुञ्जने मुल्लाबचनको विरुद्ध बोल्ने आँट छैन । अतः चलिआएको सत्य सनातन परम्परालाई कुल्चँदै, विश्व कल्याणकारी वैदिक मन्त्रहरूको बहिष्कार गरी विधर्मीहरूको संस्कृति, संस्कार र ड्रेस अबलम्बन गर्नु नै यहाँ प्रगतिशीलको परिभाषा हुन गएको छ । यी कार्यहरू प्रगतिशील हुन् वा अधोगतिशील हुन् यी कुरा छुट्याउनु हाम्रो कर्तव्य हुन आएको छ । अस्तु ।