© २०२३
सल्यान, १० जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ लेखचौरपानीमा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । “दिगो स्वास्थ्यको आधार: आयुर्वेद उपचार” भन्ने नारासहित आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ८१ जना महिला र १सय २५ जना पुरुष गरेर ३ सय ६ जनाले सेवा लिएको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख गणेश रावलले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले व्यक्तिको ठुलो सम्पत्ति भनेको स्वास्थ्य भएकाले आफ्नो शरीरलाई सधैँ स्वस्थ राख्नुपर्नेमा जोड दिँदै गाउँपालिकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य सहित काम गरिरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले मन्तव्य राख्दै आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जीवन सहज हुने भन्दै यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरेका थिए ।
आयुर्वेद डाक्टर कैलाश न्यौपानेसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श र निःशुल्क औषधि वितरण गरेको थियो । डाक्टरसहितको टोलीले गाउँमै पुगेर आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरेपछि स्थानीयहरू खुसी भएका थिए । सानातिना समस्याका लागि पनि टाढा जानुपर्ने बाध्यतामा रहेका स्थानीयहरूले आफ्नै ठाउँमा शिविर सञ्चालन भएपछि राहत महसुस गरेका हुन् । शिविरमा पेट दुखाइ, अपच, पायल्स, मधुमेह, रक्तचाप र जोर्नी दुखाइजस्ता समस्या भएका बिरामी आएका थिए । उनीहरूलाई आयुर्वेदिक औषधि र जीवनशैली सुधारको सल्लाह दिइएको थियो । आयुर्वेद औषधिको कुनै पनि नकारात्मक असर नभएको र रोगलाई निको बनाउन प्रभावकारी हुने भएकाले आयुर्वेद उपचार पद्धतिको उपचार गर्न डाक्टर न्यौपानेले आग्रह गरे ।
शिविरमा अन्य वडाबाट पनि स्थानीयहरू सेवा लिन आएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य तिला घर्ती, वडा सदस्य टंक बहादुर वली, गाउँपालिका स्थित सचिवालयका खडग शाही, छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी, जनस्वास्थ्य निरीक्षक शिशिर रिजाल, वडा सचिव दुर्गा केसी, भलिबल खेलका राष्ट्रिय रेफ्री द्रोण चन्द, त्रिजमावि लेखचौरपानीका विव्यस अध्यक्ष कल्याण भण्डारी, प्र अ घनश्याम वली, वरिष्ठ वैद्य गीता परियार, आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र महानेटाका प्रमुख विजय कुमार घर्ती, सामाजिक परिचालक अमृता चन्द, शङ्कर केसी लगायतको सहभागिता रहेको थियो ।