© २०२३
पानी, श्वेत सुन हो । जो निरन्तर बगिरहन्छ । नेपालमा पाँच हजार ताल, पाँच हजार एकसय ८३ पोखरी र एक हजार तीनसय ८० जलाधार छन् । पानीका अनेक प्रकार छन् । माटोमा रहेको चिस्यानलाई हरियो पानी भनिन्छ । खाद्यन्न उत्पादन गर्न खपत हुने पानीलाई भर्चुअल पानी भनिन्छभने मूल, नदी, खोला, पोखरी र तालको पानीलाई निलो पानी भनिन्छ ।
यहाँ प्रसंग निलो पानीकै छ । पाल्पाको दोभान र झुम्सा खोला दोभान गाउँको पुछारमा मिलेपछि तिनाउ नदी बनेको छ । तलतिर बग्दै आउँदा बुटवलक्षेत्रमा तिनाउ र तिलोत्तमा नाउँले समेत पुकारिन्छ । तिनाउ नदीको प्राचीन सभ्यता छ । पाल्पाका साविक दोभान,कचल,मस्याम र कोल्डाँडा गाविसहरु मिलेर तिनाउ गाउँपालिका बनेको छ । यही नदीको नाउँबाट नै गाउँपालिकाको नाम नै तिनाउ राखिएको हो ।
तिनाउ नदीको मुहान पाल्पा रैनादेवी–छहरा गाउँपालिका वडा नं.६,मेहल्धाप र पाल्पाकै पूर्वखोला गाउँपालिका वडा नं.४,देवीनगरको लेमढेममा रहेको छ । यिनै क्षेत्रमा रहेका मुहानहरुबाट बग्दै जाने पानीमा विभिन्न ठाउँमा खोल्सा, खोल्सीहरु मिलेर नै सिंगो तिनाउ नदी पुगेको छ । गोठादी खोला, उटुवाखोला, झेर्दीखोला, बाउन्ने खोला, कुर्मान खोला, बोक्से खोला, पाहरेखोला लगायतका शाखा खोल्सा खोल्सीहरु मिलेर नै तिनाउ नदी बनेको हो ।
तिनाउ, सानो नदी भएर पनि बहुप्रयोग हुुने नदी हो । यही नदीबाट बुटवल खानेपानी संस्थानले दैनिक एक करोड १० लाख बढी लिटर पानी चिडियाखोला क्षेत्रबाट पम्पिङ्ग गरेर बुटवलबासीलाई वितरण गरिरहेको छ । त्यस्तै यही नदीबाट तिनाउको हेडवक्र्समा ड्याम बाँधेर कदमबासमा विजुली उत्पात्दन गरी बुटवल र दोभान क्षेत्रमा उज्यालो दिइरहेको छ । यसको क्षमता एक मेघावाट भएतापनि अहिले फूलफेजमा विजुली उत्पादन भइरहेको छैन । मेसीनको गडबडीका कारणले यस्तो समस्या आइपरेको छ । त्यसैगरी यही तिनाउको पानीलाई १६÷३६ संयुक्त सिंचाई प्रणाली र चारतपाह सिंचाई प्रणालीमार्फत् बुटवल, तिलोत्तमाका विभिन्न स्थानहरुमा सिंचाई गरिएको छ । नेपालका जलाधारबाट उत्पादन भएका पानीले ८० लाख हेक्टर जमीन सिंचित गर्न सकिन्छभने तिनाउ नदीले साढे १४ हजार हेक्टर जमिनलाई सिंचित गरेको छ । यही तिनाउ नदीका तटमा रहेका बुटवल,तिलोत्तमा,सियारी,शुद्धोदनलगायतका पालिकाहरुले ढुंगा,गिट्टी,बालुवा,काठहरु ठेक्का लगाएर वर्षमा करोडौंको राजस्व संकलन गरिहेका छन् । तिनाउ नदीले तल्ला तटीय क्षेत्रमा आम्दानीको बाटो फराकिलो बनाइदिएको छ । हजारौंलाई रोजगार दिएको पाइन्छ ।
तिनाउ नदीको माथिल्लो क्षेत्र,पानीको रिचार्ज सेन्टर( पुनर्भरण क्षेत्र) हो । यहाँ रहेका पोखरी,तालतलैयाहरु तल्ला क्षेत्रका लागि उपयोगी हुन्छन् । सीमसार क्षेत्रले पनि जलाधारक्षेत्रमा सहयोग पुराउँदै आएका छन् । यही सीमसार क्षेत्रलाई मास्ने काम चौतर्फी भइरहेका छन् । पोखरी वा तालहरुको सौन्दर्यता बढाउने निहुँमा प्राकृतिक ताल,पोखरीलाई खन्ने,पुर्नेजस्ता गैरप्रकृतिजन्य काम भइरहेका छन् । विकास निर्माणको नाममा विनाश गर्ने काम भइरहेका छन् ।

माथिल्ला क्षेत्रमा सीमसार तथा पानी पुनर्भरणक्षेत्र विनाश हुँदै गएकोले तराईमा यतिबेला २÷३ सय फीट पाइप गाड्दा पनि ट्युवेलहरुमा पानी आउन छाडेका छन् । पहिला करिव ८० फीटमा पाइप गाड्दा पानी ह्वालह्वाल्ती आउने गथ्र्यो । पानीका मुहानहरु दिनप्रति दिन सुक्दै गएको देखिन्छ । झुम्साखोलाको शाखा गोठादी खोल्सा, झुम्सा नजिकैबाट २० इन्चको पाइपमा बुटवलमा पिउने पानी ल्याइँदैछ । यसले पनि तिनाउ जलविद्युत उत्पादनमा संकट पर्न सक्ने अड्कल धेरै संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।
तिनाउ,बहुउपयोगी नदी भएरपनि तल्लो तटीय क्षेत्रले तिनाउ नदी र उसको उत्पादनहरुलाई प्रयोग गरिसकेपछि माथिल्लो क्षेत्रमा रहेका पानीमुहानहरुलाई संरक्षण,सम्वद्र्धनमा खासै चासो,चिन्ता र चिन्तन गरेको भेटिदैन । सामुदायिक वन समन्वय समिति,तिनाउले तिनाउ जलाधारक्षेत्रको संरक्षणका लागि तल्लो तटीय क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिहरु,पाल्पा र रुपन्देहीका संघीय एवम् प्रदेश सभा सदस्यहरु, सिंचाइँ प्रणाली,सरोकारवालाहरु र पत्रकारहरुलाई साक्षी राखेर नैतिक,भौतिक एवम् आर्थिक सहयोगको बारेमा व्यापक छलफल र कार्यक्रम गर्दै आइरहेको छ । सोही अनुसार केही सिंचाइँ प्रणालीले माथिल्लो क्षेत्रमा रहेका पानीमुहानहरुको अवलोकन भ्रमण गरी वृक्षरोपणमा सहयोग गरेका थिए । बुटवल उपमहानगरपालिकाले तिनाउ गाउँपालिकालाई केही आर्थिक सहयोग गर्दै आइरहेको छ ।
तिलोत्तमा, सियारी, मायादेवी, सम्मरीमाईलगायतका पालिकाहरुले सहयोग दिन इच्छुक भएपनि सहयोग गर्न मिल्ने यथेष्ट एवम् सहज ऐन नभएको हुँदा तिनाउ नदीका माथिल्ला तटीयक्षेत्रका स्थानीय सरकार वा सरोकारवाला सामुदायिक वनहरुले सहयोग लिन सकिरहेका छैनन् । यसका लागि सामुदायिक वन समन्वय समितिले लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री र माननीय सभामुखहरुसँग आवश्यक भेटघाट र छलफल गरी वातावरणीय सेवा भुक्तानी ऐन ल्याउन आवश्यक रहेको ठहर गरेको छ । यसो हुँदा तिनाउ नदी, मृत हुनबाट जोगाउँदै तिनाउ सभ्यताको संरक्षण र सम्वद्र्धन हुनेछ ।
तिनाउ नदी, आजको अवस्थामा आइपुग्दा यसले आफ्नो अस्तित्व नै गुमाउने हो कि भन्ने ठूलो शंका छ । डर छ ,पीर छ । तिनाउ नदीमा पाइने ठेंडी माछा लोप भइसकेका छन् । असला माछा एकादेशको कथा भइसक्यो । बुदुना र भोटी माछा त जनतन भेट्न सकिएला । तिनाउ नदीमा फोहोर फाल्नेहरुको कमी छैन । तिनाउमा प्लाष्टिकहरुको थुप्रो भेटिदैछन् ।
वातावरणीय सेवा भुक्तानी ऐन बनेमा यसबाट तिनाउका तल्ला र माथिल्ला तटीय दुबैक्षेत्रलाई लाभ हुने छ । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारलेमात्र होइन,सरोकारवाला सबैले बास्केट फण्डमा आफ्नो गच्छेता अनुसारको वजेट मिसाउने छन् । जुन फण्डबाट माथिल्लो तटीय क्षेत्रमा मुहान संरक्षणका काम हुनेछन् । पानीलाई फोहोर हुनबाट जोगाइने छ । सफापानीका लागि सरसफाइ अभियान चलाइने छ । नदी किनारका बस्तीहरुमा आधुनिक चर्पीको व्यवस्थापन गरिने छ । वनप्रतिको निर्भरता घटाउनका लागि आधुनिक चुल्हो बनाएर सहयोग गरिने छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई पानीको मात्रा धेरै पठाउन सम्भव हुनेछ । सफा पिउने पानी प्राप्त हुने छ । तल्लो क्षेत्रमा तिनाउ र दानवले पारेको भौतिक एवम् मानवीय क्षतिलाई न्यूनीकरण गर्न तटबन्ध लगाइनेछ । नदीको तीव्र बहावलाई स्पार्कहरुले छेक्ने छन् । क्षतिबाट जोगाउन सम्भव हुनेछ ।
माथिल्ला तटीय चुरेक्षेत्रको माटो चुरेमा नै रहने छन् । तराईक्षेत्र मरुभूमिकरणबाट जोगिने छ । तिनाउ जलाधारको संरक्षण गर्दै उक्त फण्डबाट तिनाउ नदीमुहान र तटीयक्षेत्रका बस्तीहरुलाई आयआर्जनसँग जोड्न सकिने छ । नदी सभ्यतालाई जोगाउन पहल गरिने छ । तिनाउ हामी सबैको सम्पदा हो ,यसको संरक्षण गर्नु हामी सबैको दायित्व होभन्ने सन्देश प्रवाह गर्न सकिने छ । तिनाउको पानी पिउनयोग्य हुने छ । माथिल्ला क्षेत्रमा वन विनासबाट रोकिने छन् । हराभरा मुहान हुने छ । जलचरको संरक्षणमा पहल हुने छ । पानीमा कुनैपनि विषादी प्रयोग हुने छैन ।
नेपालमा वर्षातको चार महिनामा ८० प्रतिशत् पानी पर्छ । बाँकी ८ महिनामा पानी पर्नेमात्र २० प्रतिशत् नै हो । वर्षातको बेलामा पानीको संरक्षण गर्न नसक्दा बाँकी ८ महिना नेपालीहरुमा सिंचाई,कुँडोफाँडो गर्न र पिउनका लागि कठिनाई हुने गरेको भेटिन्छ । जलस्रोतको धनी देश भएर पनि पानीमा हामी गरीव सावित हुँदैछौं । त्यसैले वर्षाको पानी संकलन गर्नका लागि प्राकृतिक ताल,तलैया आवश्यक देखिन्छ ।
तिनाउ जलाधार संरक्षणका लागि सबैले अपनत्व लिनुपर्ने छ । साझा दायित्वको भाव सबैमा विकास गर्नु जरुरी देखिन्छ । तिनाउ नदी जोगाउनु हामी सबैको दायित्व र कर्तव्य हो । तिनाउ नदीलाई जोगाउन सक्दामात्र पनि यसबाट मानवलाई अत्यधिक लाभ हुने छ । प्रकृति र संस्कृतिको संरक्षणमा सबैले जिम्मेवारी बोध गरौं । यसैमा सबैको कल्याण हुनेछ ।