बुटवल, १० जेठ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा नागरिक जागरणका लागि एक दिवसीय नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको सहकार्यमा पब्लिक भ्वाईस नेपालले आयोजना गरेको कार्यक्रममा सूचनाको प्रवाह, सेवाप्रवाह र पारदर्शिता कायम गर्न ‘सूचनाको हक’लाई कसरी प्रयोग गर्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बल बहादुर पुनले वडामा सुशासन र पारदर्शिता कायम गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको बताए। उनले वडा नम्बर १० लाई बुटवलका उत्कृष्ट वडामध्ये एक भएको उल्लेख गर्दै नागरिकले पाउने सेवामा कुनै कमी नरहेको दाबी गरे। “हामीले नागरिकले खोजेको सूचना समयमै उपलब्ध गराउँदै आएका छौं। वडामा हालसम्म लुकाउनु पर्ने कुनै काम गरिएको छैन। हामी पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं,” उनले भने।
साथै, सेवा प्रवाहमा कसैले अप्ठ्यारो पारेको भए समस्या खुलस्त रूपमा राख्न अनुरोध गर्दै वडाले सबै नागरिकलाई समान व्यवहार गर्ने उल्लेख गरे। कार्यक्रममा वडा सचिव प्रेम बुढाथोकिले वडाबाट नागरिकले प्राप्त गर्ने सेवा र सूचनामा नागरिकको पहुँचबारे जानकारी दिँदै वडाका प्रत्येक नागरिकलाई प्रदान गरिने सेवाबारे जानकारी गराए। उनले सूचनाको प्रवाह पारदर्शी रहेको र नागरिकको जानकारीको अधिकारलाई वडाले सम्मान गर्दै आएको स्पष्ट पारे।
पब्लिक भ्वाईस नेपालकी अध्यक्ष राधा बस्नेतले सूचनाको हक नागरिकसम्म कसरी पुर्याउने र सार्वजनिक निकायलाई कसरी जिम्मेवार बनाउने भन्ने विषयमा कानुनी प्रावधान, सूचना माग गर्ने प्रक्रिया तथा यसको प्रयोगले कसरी सुशासन र जवाफदेहिता कायम गराउँछ भन्ने विषयमा सहजीकरण गरिन्।
उनले भनिन्, “सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ र नागरिक सचेत तथा सशक्त बन्छन्।” कार्यक्रमका संयोजक तथा वडा सदस्य रमेश अधिकारीले वडा कार्यालय नागरिकको नजिकको सरकार भएकाले यस्ता कार्यक्रमले नागरिक र सरकारबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। वडा सदस्य यमुना काउचा र मिनबहादुर सारुले शुभकामना मन्तव्य राख्दै वडास्तरबाट भएका कुनै कमजोरी भए नागरिकले जनप्रतिनिधिलाई खबरदारी गरी सचेत गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सोही वडाका निर्वाचित सदस्यहरू, टोल विकास संस्था, बाल क्लब, युवा क्लब, आमा समूहलगायत विभिन्न संघसंस्थाका ४३ जना प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमलाई वडाले निरन्तरता दिनु आवश्यक रहेको सुझाव दिए। साथै, सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचारमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।