© २०२३
मानव सभ्यताको प्रारम्भदेखि नै मानिसले आफ्नो अस्तित्व, उद्देश्य र भविष्यबारे प्रश्न उठाउँदै आएको छ । आकाशमा चम्किने ताराहरू, दिनरातको फेरबदल, ऋतुहरूको चक्र र अप्रत्याशित जीवन घटनाहरूले उसको जिज्ञासालाई झन गहिरो बनाएको छ । यस्ता जिज्ञासाहरूको उत्तर खोज्ने क्रममा मनुष्यले दुई फरक तर एक अर्कासँग सम्बन्धित पथहरू अवलम्बन ग¥यो—एक हो परम्परामा आधारित विश्वास । जसले समयसँगै ज्योतिषको रूपमा रूप लियो; अर्को हो– परीक्षण र तर्कमा आधारित वैज्ञानिक दृष्टिकोण । जसले मनोविज्ञानलाई जन्म दियो । यी दुवै विधा फरक–फरक स्रोतबाट उत्पन्न भएतापनि अन्ततः मानव जीवनको जटिलता बुझ्न र त्यसलाई मार्गदर्शन गर्नका लागि विकसित भएका हुन् भन्दा अत्युक्ति नहोला । ज्योतिष एक यस्तो परम्परागत विधा हो, जसले ग्रह–नक्षत्रको गति, स्थिति र परस्पर क्रियाको अध्ययन गरी मानव जीवनमा त्यसको प्रभावलाई विश्लेषण गर्ने प्रयास गर्छ ।
विशेषगरी वैदिक ज्योतिषमा, मानिसको जन्म समय र स्थानका आधारमा कुण्डली निर्माण गरिन्छ, जुन एक प्रकारको आकासीय नक्सा हो । यसमा दशा, गोचर, योग, नवांश, भाव आदि प्रणालीहरू प्रयोग गरी मानिसको स्वभाव, क्षमता, कमजोरी, भाग्य र जीवनपथको मूल्याङ्कन गरिन्छ । यस्ता प्रणालीहरूले जन्मदेखि मृत्युसम्मका महत्वपूर्ण मोडहरूको पूर्वानुमान गर्न सकिन्छ भन्ने विश्वास रहिआएको छ । यद्यपि यस्ता विश्लेषणहरू वैज्ञानिक दृष्टिकोणबाट परीक्षणयोग्य छैनन्, तर सांस्कृतिक दृष्टिले तिनीहरूको गहिरो प्रभाव सामाजिक संरचनामा देख्न सकिन्छ । मनोविज्ञान अर्कोतर्फ, मानव मस्तिष्क र चेतनाको वैज्ञानिक अध्ययन हो, जसले व्यवहार, अनुभूति, भावना, स्मृति र निर्णय प्रक्रियाको विश्लेषण गर्छ । यो अनुशासन १९ औँ शताब्दीमा वैज्ञानिक रूपले स्थापित भए तापनि यसको जरा प्राचीन दार्शनिक चिन्तनमा गाडिएको पाइन्छ । सिग्मण्ड फ्रायडले मनोविज्ञानमा अवचेतन मनको अवधारणा प्रस्तुत गर्दै मानिसको व्यवहार, स्वप्न र मानसिक समस्याको व्याख्या गरे । कार्ल जुंगले सामूहिक अचेतन र मिथकीय प्रतीकहरूलाई मनोविज्ञानसँग जोडेर गहिरो अन्तरदृष्टि प्रदान गरे । आधुनिक मनोविज्ञानमा काग्निटिभ विज्ञान, व्यवहारवाद, मानववादी दृष्टिकोण, नियो–फ्रायडियन धाराहरू र न्यूरोसाइकोलोजीसमेत समावेश छन्, जसले मानिसको मानसिक अवस्था र त्यसले व्यवहारमा पार्ने प्रभावलाई स्पष्ट रूपमा व्याख्या गर्छन् । ज्योतिष र मनोविज्ञान दुई भिन्न स्रोतबाट आएको भएपनि, ती दुवै मानवको गहिरो चेतनासँग सम्वाद गर्ने माध्यम हुन् । एकले आकाशीय संकेतहरू पढ्छ, अर्कोले आन्तरिक तरंगहरू ।
एकले जन्म समयका ग्रह स्थितिलाई जीवनका सम्भावनासँग जोड्छ, अर्कोले व्यक्ति विकासको क्रम, वातावरणीय प्रभाव, बाल्यकालीन अनुभव र मनोवैज्ञानिक प्रतिक्रियाको आधारमा विश्लेषण गर्छ । यिनको आधार, पद्धति र प्रमाण फरक भए पनि, उद्देश्य एउटै छ—मानिसलाई आफू बुझ्न, आफ्नो अवस्थालाई स्पष्ट गर्न, र निर्णयमा विवेक पु¥याउन सहयोग गर्नु । ज्योतिष विश्वासमा आधारित विधा हो । मानिस आफ्नो कुण्डली हेरेर, ग्रहदशा अनुसार, निर्णय लिन्छ—शुभ वा अशुभ समयको प्रतीक्षा गर्छ, कुनै कार्य स्थगित गर्छ वा कुनै निर्णयमा दृढ हुन्छ । यस्तो आस्था उसको सोच, भावना र व्यवहारमा प्रभाव पार्छ । मनोविज्ञानमा यसलाई प्लेसिबो इफेक्ट वा आत्मपुष्टि भविष्यवाणी भनिन्छ । जब व्यक्तिले कुनै कुरामा दृढ विश्वास गर्छ, त्यो विश्वास नै उसको चेतनामा परिवर्तन ल्याउन सक्षम हुन्छ । जस्तै, यदि कसैलाई भनियो कि उसले आगामी वर्षमा ठूलो सफलता प्राप्त गर्नेछ, उसले त्यो विश्वासलाई आधार मानेर बढी आत्मविश्वासका साथ कार्य गर्न थाल्छ, जुन अन्ततः सफलतासम्म पु¥याउन सक्छ । कार्ल जुंगजस्ता मनोविज्ञले यो अन्तरसम्बन्धलाई गहिराइमा बुझ्ने प्रयास गरेका छन् । जुंगले ‘सिङ्क्रोनिसिटी’ को अवधारणा अघि सारे, जस अनुसार कुनै निश्चित समयमा भएका असम्बन्धित घटना र मानसिक अवस्था बीच अचेतन तर गहिरो सम्बन्ध हुन सक्छ । उनले यो स्वीकारे कि ज्योतिष, यद्यपि वैज्ञानिक रूपमा परीक्षण गर्न सकिँदैन तर अचेतन मनको प्रतीकात्मक भाषा बुझ्न उपयोगी हुन सक्छ । उनका विचारमा ग्रहहरूका नामहरूले प्रतीकात्मक अर्थ बोकेका हुन्छन—जस्तै शनि अनुशासन र कर्मको सूचक हो, मङ्गल ऊर्जा र आक्रोशको प्रतीक हो। यसरी हेर्दा, ज्योतिष केवल भविष्यवाणीको साधन मात्र नभई मनोवैज्ञानिक विश्लेषणको माध्यम पनि हुनसक्छ ।
ज्योतिषीय विश्वासले मानिसको सोच र व्यवहारमा प्रभाव पार्न सक्छ भन्ने कुरा सकारात्मक र नकारात्मक दुवै रूपमा देखिएको छ । सकारात्मक रूपमा हेर्दा कुनै व्यक्तिले ग्रहको अनुकूलताका कारण नयाँ अवसरको खोज गर्छ, विश्वासका साथ काम गर्छ र मानसिक सन्तुलन कायम राख्छ । नकारात्मक रूपमा हेर्दा त्यही ग्रह स्थितिले डर उत्पन्न गराउन सक्छ, व्यक्ति उदासीन बन्न सक्छ, निर्णय टार्न सक्छ, वा असफलताको दोष बाह्य शक्तिमा थोपर्न सक्छ । यो विषयको अर्को पाटो पनि छ—मनोविज्ञान पनि सम्पूर्णरूपमा प्रमाणिक र शुद्ध निष्कर्ष प्रदान गर्न सक्ने विज्ञान होइन । धेरैजसो मनोवैज्ञानिक सिद्धान्तहरू—जस्तै फ्रायडको मनोविश्लेषण—पुनरावृत्त परीक्षणमा असफल भएका छन् वा ती सांस्कृतिक रूपमा सीमित छन् । तर तिनको उपयोगिता मानवीय व्यवहारको विश्लेषण, आत्मचिन्तन र व्याख्यामा आज पनि महत्वपूर्ण मानिन्छ । त्यसैगरी ज्योतिष पनि त्यही भावनात्मक, प्रतीकात्मक र मनोविश्लेषणात्मक क्षेत्रमा उपयोगी हुन सक्छ—तर सर्त भनेको हो, त्यसलाई अन्धविश्वासका रूपमा नलिनु । आजको समाजमा मानिसहरू दुविधामा छन—एकातिर उनीहरू आधुनिक विज्ञान र प्रविधिको भरोसामा छन्, अर्कोतिर जीवनको गहिरो प्रश्नहरूको उत्तर पाउन आस्था, परम्परा र आध्यात्ममा फर्किन्छन् । यस्तो परिवेशमा, ज्योतिष र मनोविज्ञानको समन्वयले एक किसिमको सामञ्जस्य प्रदान गर्न सक्छ ।
ज्योतिषले समयको प्रतीकात्मक संकेत दिन्छ, मनोविज्ञानले आन्तरिक मानसिक अवस्थाको विश्लेषण गर्छ । एउटाले आत्मबोधको सुरुवात गराउँछ, अर्कोले त्यसको व्याख्या गरेर समाधानको मार्ग खोल्छ । मानव जीवन केवल तर्क वा विश्वासमा मात्र सीमित छैन—यो भावना, अनुभव, मिथक र प्रतीकहरूको समिश्रण हो । त्यसैले न त केवल वैज्ञानिक कठोरता नै पर्याप्त हुन्छ, न त केवल अन्धआस्था । बीचको मार्ग आवश्यक छ, जहाँ वैज्ञानिक विवेक र सांस्कृतिक संवेदना दुबै सँगसँगै हिँड्छन् । यदि हामी ज्योतिष र मनोविज्ञानलाई द्वन्द्वको दृष्टिले होइन, पूरकको दृष्टिले हेर्छौं भने—अझ ठूला उपलब्धि सम्भव छन् । मानौं, मानिस आफैंमा उत्पन्न द्वन्द्वलाई समाधान गर्न एउटा सूक्ष्म इशारा खोज्दैछ—जसलाई ऊ ‘ग्रहको संकेत’ भन्न सक्छ, तर त्यो संकेत अन्ततः उसकै चेतनाबाट उत्पन्न भएको हुन सक्छ । अनि मनोविज्ञानले त्यो चेतनालाई स्वर दिन सक्छ, त्यसको व्याख्या गर्न सक्छ, अनि जीवनका पाटोहरू उजागर गर्न सक्छ । यसैले, आजको मानसिक अस्थिरता, आत्मग्लानि, दिग्भ्रम र तनावको युगमा, हामीले यी दुवैको सहयोग लिनु आवश्यक छ । न त सम्पूर्ण रूपले विज्ञानमा विसर्जन गर्नु उपयुक्त छ, न त केवल विश्वासमा विसर्जन । आत्मबोधको यात्रामा यस्ता सबै स्रोत उपयोगी हुन सक्छन्, यदि तिनीहरूलाई विवेकपूर्वक समन्वय गर्न सकियो भने ।