© २०२३
बुटवल, ९ जेठ । नेपालका दुर्गम र ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले सिद्धार्थ विश्वज्योति मल्टिपर्पोज कम्पनीले भारतीय फोर्स मोटर्सको बीएक्स सिक्स ट्याक्स एम्बुलेन्स नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले शुक्रबार बुटवलमा नया एम्बुलेन्स सार्वजनिक तथा हस्तान्तरण कार्यक्रम गरेको छ ।
लुम्बिनी मेडिकल कलेजका कार्यवाहक अध्यक्ष गोपाल बहादुर पोखरेललाई सिद्धार्थ बिश्वज्योति मल्टिपर्पोज कम्पनीका अध्यक्ष दिनेशमान अमात्यले एम्बुलेन्सको साचो हस्तान्तरण गरेका छन । सुविधासम्पन्न उक्त एम्बुलेन्सको बजार मूल्य १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । भन्सार शुल्क, सडक कर, बीमा र अन्य विविध खर्चहरू समावेश गर्दा कुल लागत करिब १९ लाख ७५ हजार रुपैयाँ पर्छ । एम्बुलेन्स अत्याधुनिक प्रविधिले सुसज्जित छ जसमा आकस्मिक उपचारका लागि आवश्यक उपकरण जडान गर्न सकिने सुविधा छ । कम्पनीले सामाजिक उत्तरदायित्वका रूपमा स्वास्थ्य क्षेत्रमा योगदान दिन यस्तो पहल गरेको बताएको छ । “हामी व्यवसायसँगै समाजप्रति पनि उत्तरदायी छौं । आगामी दिनमा अन्य मेडिकल संस्थासँग पनि सहकार्य गर्दै सेवा विस्तारमा टेवा पु¥याउने लक्ष्य छ,” –अमात्यले स्पष्ट पारे । यो एम्बुलेन्स विशेषतः नेपालका पहाडी र ग्रामीण सडकहरूका लागि उपयुक्त रहेको बताए । “नेपालको विशेषगरी पश्चिम भेगमा स्वास्थ्य संस्था र बिरामीबीचको दूरी धेरै छ । त्यस्ता ठाउँमा छिटो र सुरक्षित रूपमा बिरामी पु–याउनका लागि यो एम्बुलेन्स निकै उपयोगी हुने छ,” उनले भने ।
कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका कार्यवाहक अध्यक्ष गोपाल बहादुर पोखरेलले नयाँ एम्बुलेन्सको आगमनबाट बिरामीको सहज उपचार र स्थानान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यो एम्बुलेन्समार्फत बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पतालसम्म ल्याउन के कस्तो सहजता ल्याउछ त्यसको आधारमा भविष्यमा थप एम्बुलेन्सको माग पनि गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा मल्टिपर्पोज कम्पनीका म्यानेजिङ डाईरेक्टर प्रवीणकुमार भारीले बजारमा फोर्सका ३ प्रकार चारपाग्रे सवारीहरु रहेको बताए । व्यक्तिगत प्रयोगका लागि ‘गोर्खा’, व्यवसायिक यात्राका लागि ‘ट्राभलर’, र सामान ढुवानीका लागि ‘कार्गो किकर’ हुन ।