© २०२३
काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच टोकियोस्थित जाइकाको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ। नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सहकार्य, आपसी हितका विविध क्षेत्रहरू, तथा भविष्यका सम्भावित साझेदारीहरूबारे विस्तृत छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।
भेटको क्रममा मन्त्री डा. राणाले जाइकामार्फत जापान सरकारले नेपाललाई आर्थिक तथा सामाजिक विकासका विविध क्षेत्रमा पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। उनले जाइकाले आर्थिक वृद्धि, गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि तथा सुशासन र प्रजातन्त्र सुदृढीकरणमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरिन्।
नागढुङ्गा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनःनिर्माण र मर्मत कार्य जस्ता ठूला पूर्वाधार परियोजनामा जापानको सहयोग उल्लेखनीय रहेको भन्दै डा. राणाले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्।
भेटमा जलवायु परिवर्तनका असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा पनि विचार विमर्श भएको थियो। बैठकले नेपाल–जापान सम्बन्धलाई अझ व्यवहारिक, सुदृढ र सहकार्यमा आधारित बनाउन थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।