© २०२३
काठमाडौं, ९ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने विषयमा पार्टी दृढ रहेको स्पष्ट पारेका छन्। शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले युवालाई स्वदेशमै रोक्न रोजगारी सिर्जना, सीपको उपयोग र लगानी प्रवर्द्धन अपरिहार्य भइसकेको बताए।
सभापति देउवाले समाजवादी अवधारणा अनुरूप सामाजिक सुरक्षा भत्ता वितरणमा नसक्ने वर्गलाई लक्षित गर्नुपर्नेमा जोड दिँदै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना असंगठित क्षेत्रमा कार्यरत श्रमिकले सहज रूपमा उपयोग गर्न सक्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरे। उनले यस्तो व्यवस्था गर्न कानुन संशोधन र व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताए।
श्रमिकको पहिचानका लागि स्थानीय तहमा पञ्जीकरणको व्यवस्था गर्न कांग्रेसले पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले श्रम ऐनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कांग्रेस सक्रिय भूमिका खेल्ने आश्वासन दिए। सभापति देउवाको भनाइमा युवालाई स्वदेशमै रोक्न शिक्षा, श्रम, सामाजिक सुरक्षा र रोजगारीका क्षेत्रमा कानुनी तथा नीतिगत सुधार अत्यावश्यक भएको प्रस्ट देखिन्छ।