© २०२३
लमही , ९ जेठ ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको सातौँ बैठक शुक्रवार बसेको छ, जसमा आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले छलफलको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तावका आधारमा दलगत प्रतिनिधित्वअनुसारका सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने कार्य आरम्भ भएको हो।
प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा विशेष प्राथमिकता दिँदै २०४ बुँदामा समेटिएको नीति तथा कार्यक्रम ल्याएको छ। सरकारको दाबीअनुसार कार्यक्रमले समावेशी विकास, रोजगारी सिर्जना र समृद्धिको मार्ग तय गर्ने अपेक्षा गरिएको छ। यसअघि आजै बसेको छैटौँ अधिवेशनको छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभालाई सम्बोधन गर्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सो कार्यक्रमको लिखित प्रति मुख्यमन्त्री आचार्यले सभामा पेस गरेका हुन। कार्यक्रमप्रति धन्यवाद ज्ञापनको प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेस गर्नुभएको थियो भने उक्त प्रस्तावमा सदस्य जमुना ढकालले समर्थन जनाए। सभामुख तुलाराम घर्ती मगरले धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले पारित भएको घोषणा गरे। प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल आगामी दिनहरूमा समेत जारी रहनेछ, जसमा सांसदहरूले विभिन्न क्षेत्रका प्राथमिकता, सम्भाव्यता र चुनौतीबारे आफ्ना धारण राख्ने छन्।