© २०२३
गुल्मी, ०९ जेठ ।
दुई पटकसम्म ढलान गरेपछि भाँचिएको गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बडिगाड खोलाको झेँदीमा निर्माण गरिएको पुल तेश्रो पटकमा निर्माण सम्पन्न भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–३ को बडागाउँ र –७ को वामी जोड्ने झेँदी पुल झण्डै दश वर्षपछि डिजाइननै परिवर्तन गरी तेश्रो पटकमा निर्माण सकिएको हो ।
स्विस सरकारको पाँच करोड १७ लाख ५० हजार ६६५ रूपैयाँको लागतमा जलप कन्ट्रक्सन प्रालिले भर्खर मात्र पुल निर्माणको काम सम्पन्न गरेको हो । उक्त पुलको पछिल्लो समयमा ०७९ वैशाख १९ गते पुल निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार पुल निर्माणको काम अहिले सम्पन्न भैसकेको मोटरयोग्य सडक पुल कार्यक्रम (एमएलआरबिपि) ललितपुरका इन्जिनीयर श्रीराम प्रजापतिले बताए ।
निर्माण गरिएको पुल स्टिल ट्रस कम्पोजिट ब्रिज हो । बडिगाड खोलामा निर्माण भएको झेदी पुलको लम्बाई ५६.३० मिटर रहेको छ । नेपालमा यस्ता प्रकारका पुलहरू कमै मात्रमा निर्माण गरिएको भएको इन्जिनियर प्रजापतिले बताएका छन । उनले पक्की पुल निर्माण गर्न समस्या भएको ठाउँमा मात्र यस्तो प्रकारको पुल निर्माण गरिने गरेको जानकारी दिए । झेँदी खोला पुल निर्माणका लागि ०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मीले शुरु गरेको थियोे । त्यतिबेला वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाख रुपियाँको लागतमा पुल निर्माणको सम्झौता गरे पनि उक्त पुल अन्तिम चरणमा पुग्दा भाँचिएपछि वर्षौसम्म अलपत्र परेको थियो । झेँदी खोला पुल ०७६ र ०७७ सालको वैशाख महिनामा अन्तिम चरणमा पुगेपछि दुई पटकसम्म भाँचिएको थियो ।

करोडौंको संरचना दुई पटकसम्म नोक्सान हुँदा स्थानीयहरूसँगै निर्माण व्यावसायीहरू पनि ठूलो मर्कामा परेका थिए । स्थानीयहरूको पुल बन्ने सपना पनि अधुरो बनेको थियो । ढलान भैसकेपछि अब तरौला भन्दै गर्दा दुई–दुई पटकसम्म पुल भाँचिदा स्थानीय पनि निराश बनेका थिए । मुसिकोट नगरपालिका–३ का अनन्तराम भण्डारीले अब त्यस क्षेत्रका नागरिकहरूको पुल तरेर वारीपारी गर्ने सपना पुरा भएको बताए । “दुई पटकसम्म भत्किदा पुल बन्ने सपना अधुरो बनेको थियो, त्यसले यस क्षेत्रको विकासलाई पनि ८-१० वर्ष पछाडि धकल्यो अबत पुल बन्यो धेरै सजिलो हुनेभयो, निकै खुसि लागेको छ,” भण्डारीले भने ।
पुल भाँचिदा ०७३ सालको बाढीले नजिकैको झोलुङ्गे पुलमा पनि ठूलो क्षति पुराएको थियो । स्थानीयहरू त्यही पुलबाट वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्दै आईरहेका थिए । पुल बन्ने आशमा कैयौं स्थानीयले घर जोखिममा पारेर सडक निर्माण गरे । दुई पटक पुल भत्किएपछि उनीहरूको आशा र सपना पनि त्यत्तिकै पुलसँगै अलपत्र बनेका थिए । पुल निर्माणमा मुसिकोट नगरपालिकाले पनि पटक पटक प्रदेश र संघमा घच्घचाउँदै आउनु परेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । “हामी सबैको चासो, चिन्ता र दौडधुपको कारण तीन पटकमा पुल निर्माण गर्न संभव भएको हो,” उनले भने । नगर प्रमुख खरेलले दुई पटकसम्म पुल भत्किएकोे हुँदा कहिले बन्ला भन्नमो सबैको चासो र चिन्ताको विषय बनेको बताए । पुल निर्माण भएसँगै त्यस क्षेत्रका हजारौं नागरिकहरूलाई सदरमुकाम तम्घास आवत जावतका लागि छोटो दुरीले थप सहजता पुग्ने भएको छ ।