© २०२३
बुटवल, ९ जेठ । बुटवलस्थित स्कलर्स होम बोर्डिङ स्कुलले आफना शिक्षक शिक्षिकाहरुलाई एक दिने ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक सत्रको सुरुवातसँगै शिक्षक शिक्षिकाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गरेको हो ।
पाल्पाको बसन्तपुरस्थित लुम्बिनी केबलकारको सभाहलमा विहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको विद्यालयका लेखा संयोजक लोकप्रसाद भण्डारीले बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य शिव गुरूङ, व्यवस्थापन समिति अध्यक्ष मनहरी बस्याल, प्रबन्ध निर्देशक खुबीराम आचार्य, प्राचार्य बाबुराम वञ्जाडे र सहप्राचार्य टिकाराम गौतमले शिक्षक शिक्षिकाहरूलाई समयसापेक्ष रूपमा शिक्षण सिकाई र तनाव व्यवस्थापनका विधि अपनाउन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा मुख्य प्रशिक्षक प्रखर वक्ता विदुर फुँयाल तथा इमरान खानले प्रशिक्षण प्रदान गरेका थिए । शिक्षक शिक्षिकाहरूलाई प्रशिक्षणबाट शिक्षण पद्धति र व्यक्तिगत तनाव व्यवस्थापनमा सहयोग पुग्ने प्रशिक्षक फुँयालले बताए । फुँयालले देशका ५५ भन्दा बढी जिल्लामा यस्ता अभिमुखीकरण तालिम दिइसकेका छन् ।