काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको भाउ फेरि चुलिएको छ। बुधबार मात्रै पाँच हजार रुपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार (जेठ ८) फेरि एक हजार सात सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार ५ सय रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै दोस्रो महँगो दर हो।

यसअघि बुधबार सुनको भाउ एक लाख ८९ हजार ८ सय रुपैयाँमा थियो भने मंगलबार त्यो पाँच हजार रुपैयाँ कम, अर्थात् एक लाख ८४ हजार ८ सयमा थियो। सोमबार पनि यिनै दरमा किनबेच भएको थियो, जसको अघिल्लो दिन आइतबार भने प्रतितोला मूल्य केही घटेर एक लाख ८४ हजार २ सय रुपैयाँमा झरेको थियो। वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै रेकर्ड हो।
यता, चाँदीको मूल्यमा पनि उकालो यात्रा जारी छ। लगातार दोस्रो दिन वृद्धि भएको चाँदी आज प्रतितोला दुई हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार यसको मूल्य एक हजार ९ सय ९० रुपैयाँ थियो भने मंगलबार त्यो थप ५० रुपैयाँ कम, एक हजार ९ सय ४० रुपैयाँमा सीमित थियो। बजार विश्लेषकहरूका अनुसार सुनचाँदीको मूल्यमा आएको तीव्र उतारचढाव अन्तर्राष्ट्रिय बजारका संकेत, डलरको दर, तथा आर्थिक–राजनीतिक अस्थिरताका कारणले प्रभावित भइरहेको छ।



