© २०२३
काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग आन्तरिक तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने भएका छन्। पार्टीभित्रको अवस्थाबारे राय–सल्लाह लिन देउवाले पदाधिकारी तथा अन्य वरिष्ठ नेताहरूलाई बूढानीलकण्ठस्थित आफ्नो निवासमा छलफलका लागि बोलाएका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले छलफल औपचारिक बैठक नभएर सरसल्लाहको स्वरूपमा हुने जानकारी दिए। “आज (बिहीबार) सभापतिले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ,” पौडेलले भने।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार छलफल देउवाको निजी निवास बूढानीलकण्ठमा हुनेछ।यस्तो छलफल पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टि, सत्ता समीकरण, र आगामी रणनीति तय गर्न महत्वपूर्ण मानिएको छ।