© २०२३
काठमाडौं, ८ जेठ ।
पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा सार्वजनिक लेखा समितिले गरेको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा पठाउने निर्णय गरेको छ।
बिहीबार बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले उक्त निर्णयको जानकारी दिएका हुन्। उनका अनुसार मन्त्रालयहरू र विभिन्न निकायहरूबाट तथ्य संकलन गरी बनाइएको प्रतिवेदन थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गरिएको हो।
“पतञ्जली जग्गा प्रकरणमा उजुरी आएका थिए। मन्त्रालय र सम्बन्धित निकायहरूबाट सोधपुछ गरी अन्तिम प्रतिवेदन तयार पारिएको छ। अब यसलाई अख्तियारमा पठाएर थप अनुसन्धान गर्न सिफारिस गरिएको हो,” पोखरेलले भने।
उनले समितिमा लामो समयदेखि ७ वटा उपसमिति गठन गरी विभिन्न उजुरीहरूमा अनुसन्धान गरिँदै आएको उल्लेख गरे। उनले थपे, “सबै उजुरीमा समान प्राथमिकता दिँदै काम गर्न खोजेका थियौँ, तर समयाभावका कारण सबै सम्पन्न गर्न सकिएन। अब अलिखित रूपमा एक महिनाभित्र काम सक्नेगरी समय थपिएको छ।”
त्यसैगरी पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी उपसमिति प्रतिवेदनप्रति कसैको अविश्वास नरहेको र सो प्रतिवेदन पनि अख्तियारमा पठाइसकेको जानकारी दिए।