© २०२३
बुटवल, ८ जेठ ।
बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बिहीबारदेखि बुटवलमा दुई दिने तालिम सन्चालन भएको हो । तालिममा रुपन्देही, नवलपरासी र पाल्पाका ७० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महसंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्रविधिको विकाससंगै पत्रकारले आफूलाई अपडेट गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफूलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारको क्षमता विकासका लागि महासंघले तालिम र फेलोसीपका कार्यक्रम ल्याएको बताए । उनले आफूहरूले एक करोड राशीको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले अहिलेको युग डिजिटल प्रविधिको युग भएको बताए । उनले समयक्रममा विकसित भएका सूचना प्रविधिलार्ई आत्मसात र प्रयोग गर्देै अबको पत्रकारिता बाटो तय गरिनुपर्नेमा जोड दिए ।
सन्चार समन्वय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहाले महासंघले अहिलेको आवश्यकतालाई ध्यान दिएर तालिमको विषय छनौट गरेको बताउँदै यसलाई उपलब्धीमूलक बनाउनुपर्ने बताए । उनले प्रदेश सरकारले परिषदलाई चासो नदिएकोले यसलाई सबैको अपनत्व हुने तरिकाले अघि बढाउन दवाव जरुरी रहेको जनाए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष मिना भट्टराई ढकाललगायतले बोलेका थिए । तालिमको प्रशिक्षकमा सूचना प्रविधि विज्ञ उज्ज्वल आचार्य, सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटा रहेका छन् ।