© २०२३
सुर्खेत,८ जेठ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारस शाही र सोही गाउँपालिकाको वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन् ।
उनीहरुले गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र रसिद बनाएर अवैध रूपमा राजस्व संकलन गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय वडा वन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका वडा नम्बर ६ राहदेउस्थित सडक खण्डबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
‘दुवै युवा मिलेर नक्कली छाप र कागजात प्रयोग गरी जिल्लाबाट बाहिर जान तयार रहेका जडीबुटी लोड भएका सवारी साधनहरू रोकेर कर सङ्कलन गर्दै आएका रहेछन्’प्रहरी नायब उपरिक्षक बसन्त शर्माले भने, ‘ हामीलाई सूचना आएपछि उनीहरुलाई पक्राउ गरेका छौ ।’
उनीहरूको साथबाट जुनीचाँदे गाउँपालिकाको नक्कली कार्यालय छाप,अनुसूची १०१ अन्तर्गतको मलेप फाराम नम्बर ११, आम्दानी रसिद, जडिबुटी तथा खनिज पदार्थ चेकजाँच सिफारिस सम्बन्धी पत्र, ४३९ नम्बर सहितको कर सङ्कलन रसिद लगायतका नक्कली कागजातहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपि शर्माले बताए ।