© २०२३
बुटवल, ८ जेठ । बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२ को उपाधिका लागि न्यू होराईजन ईगलिस बोर्डिङ स्कुल र कान्ति माबि बिच फाईनल खेल हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा न्यू होराईजनले दीप बोर्डिङ स्कुललाई १० बिकेट तथा दोस्रो सेमीफाईनलमा कान्तिले नबिन औद्योगिक माबिलाई २० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । शुक्रबार फाईनल खेल हुने छ ।
नरेनापुर क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा टस जितेर न्यू होराईजनले दीपलाई ब्याटिङको निम्तो दिएको थियो । दीपले निर्धारित १२ ओभरमा ८ बिकेटको नोक्सानीमा ३८ रनको लक्ष्य खडा गरेको थियो । खराब शुरुवात गरेको दीपका लागि आशिष बिकले ३१ बलमा ११ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकका रन जोड्न सकेनन । कम स्कोरमा रोक्न न्यू होराईजनका प्रिन्स पलले ३ तथा अब्राहम अलिले २ बिकेट लिए । झिनो लक्ष्यलाई न्यू होराईजनले दोस्रो ओभरमा नै बिना बिकेट भेटायो । होराईजनका सिद्धार्थ ढकालले ९ बलमा २१ तथा संगम पाण्डेले ८ बलमा १३ रनको योगदान दिए । न्यू होराईजनका प्रिन्स पल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
अर्को खेलमा टस जितेर नबिनले कान्तिलाई ब्याटिङको निम्तो दियो । कान्तिले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ९३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रोजन कुमालले २६ बलमा ४६ तथा बिशाल पौडेलले १२ बलमा १० रन जोडे । नबिनका कुशल रायमाझीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको नबिनको ब्याटिङ धरमरायो । केशव सुवेदीले १२ बलमा १९ र स्वीकृत पौडेलले २२ बलमा १६ रनबाहेक अन्य ब्याटसम्यान क्रिजमा टिकेनन । कान्तिका बिशाल मरासिनीले ३ बिकेट लिए । खेलमा कान्तिका रोजन कुमाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले बताए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।