© २०२३
काठमाडौं ,८ जेठ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी द्वन्द्वका क्रममा बेपत्ता भएका योद्धाहरू अब जीवित नरहेको दाबी गरेका छन्। बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै बेपत्ताहरू शहीद भइसकेको स्पष्ट रूपमा बताएका हुन्।
उनले अब ‘बेपत्ता’ भन्ने शब्द केवल औपचारिकताका लागि प्रयोग भइरहे पनि व्यवहारमा त्यस्तो अवस्था नरहेको बताए। “अब बेपत्ता योद्धा भन्ने केही छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके। कोही पनि जीवित छैनन्,” प्रचण्डले दृढताका साथ भने।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले राज्यले कानुनी प्रक्रिया पुरा नगरेसम्म उनीहरूलाई बेपत्ताको श्रेणीमा राख्नुपर्ने बाध्यता रहेको स्वीकार गरे। तर व्यवहारमा ती सबै योद्धाहरू अब जीवित नरहेका उनले दाबी गरे।
साथै, उनले बेपत्ता भएका योद्धाहरूका परिवारजनलाई शहीदको परिवारको हैसियतमा अधिकार र सम्मान सुनिश्चित गरिने आश्वासन पनि दिए। “उहाँहरू पनि महान शहीदकै श्रेणीमा आउनुहुन्छ। उहाँहरूलाई हामी शहीदकै सम्मान गर्छौं। शहीद परिवारले पाउने सबै सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनुहुन्छ,” प्रचण्डले भने।
द्वन्द्वकालमा हराएका आफ्न्तहरूको प्रतीक्षामा रहेका परिवारहरूको पीडालाई सम्बोधन गर्ने प्रयासस्वरूप प्रचण्डको यो भनाइ आएको हो। तर कानुनी र औपचारिक प्रक्रिया नटुंगिएसम्म, राज्यस्तरमा अझै पनि ती योद्धाहरू ‘बेपत्ता’ कै श्रेणीमा रहने छन्।