© २०२३
जितपुर, ०७ जेठ ।
नव प्रभात सामुदायिक वन उपभोक्ता समूह र बाणगंगा नगरपालिकाको लागत साझेदारीमा कुलो तथा कल्पट निर्माणको काम सुरु भएको छ । वाणगंगा नगरपालिका–८ का नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता क्षेत्र भित्र पर्ने बोडगाउँ बजार क्षेत्र लगायत विभिन्न स्थानमा कुलो तथा कल्पट निमार्णको काम सुरु भएको हो । बारम्बार डुबानमा पर्ने मुख्य बजार क्षेत्रलाई सुरक्षित बनाउन सामुदायिक वनको नेतृत्वमा लगभग ८० लाख रूपैयाँको संयुक्त लगानीमा काम भइरहेको छ । नगरपालिका र वन समूह दुवैले ४०–४० लाख बराबरको लगानी गरेका छन् ।
सामाजिक विकास र डुबानको समस्या न्यूनीकरण गर्न लक्षित यो कामले स्थानीयहरूलाई राहतको अनुभूति दिलाएको छ । स्थानीय रामु पौडेलले बर्षायाममा डुबानको हुने यस क्षेत्रमा अब डुबानको समस्या नहुने बताए । उनले वन विकास र सुरक्षाको मुख्य आधार रहेको जनाए । उनले भने “पहिला पहिला वन भनेको रूख काट्ने मात्र हो कि जस्तो लाग्थ्यो, तर अहिले थाहा भयो–यो त हाम्रो विकास र सुरक्षाको मुख्य आधार पो रहेछ !”
वन अध्यक्ष डिल्लीराज रेग्मीले बाणगंगा ८ लौगाइको झरेनियामा ६०० मिटर, बोडगाउँ बजार क्षेत्रमा १७५ मिटर कुलो तथा कल्पट निर्माण कार्य भईरहेको जानकारी दिए । उनले बन्डौली र बालापुर क्षेत्रमा पनि कुलो र कलपड निर्माण चलेको बताए । अध्यक्ष रेग्मीले नगरपालिकाको पूर्ण सहकार्यमा निमार्णका काम थालिएको बताए ।
९६३ घरधुरी आबद्ध नव प्रभात सामुदायिक वन समूहले ३७७.६३ हेक्टर वन क्षेत्र संरक्षणसँगै सामाजिक पूर्वाधार, सिँचाइ, उज्यालो गाउँ, आयआर्जन र सीप विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय तहसँगको सहकार्यमा भएको यो पहलले दीर्घकालीन विकासमा योगदान पु¥याउने तथा बोडगाउँ क्षेत्रलाई डुबानको त्रासबाट मुक्त गराउने छ । बाणगंगा नगरपालिका भित्र रहेका विभिन्न समुदायि वन समुहहरूले ५०/५० को लागत साझेदारीमा विभिन्न विकासका निमार्ण कार्यहरू गर्दै आएका छन् ।