© २०२३
काठमाडौँ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठक अप्रत्याशित रूपमा विवादास्पद बनेको छ। समितिका सभापति किरणकुमार साहमाथि नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक र नेमप्लेट प्रहार गरेकी छन्। विवाद त्यसबेला सुरु भयो जब सांसद कुसारी बैठकमा ढिलो पुगिन् र अनुमति नलिई बोल्न थालेपछि सभापति साहले उनलाई रोक्न खोजे।
सभापति साहका अनुसार, ढिलोगरी बैठककक्षमा प्रवेश गरेकी सांसद कुसारीले विनाअनुमति धारणा राख्न खोजेकी थिइन्। आफूले “बोल्न अनुमति छैन” मात्र भनेपछि उनले माइक साह भएका दिशातर्फ फालिन्। यद्यपि माइक सभापतिलाई नलागी छेउमा बसेका अन्य सांसदहरूतर्फ गएको साहले बताए।
बैठकको एजेन्डा अनाथालय, वृद्धाश्रम तथा बाल सुधार गृहको अनुगमनसँग सम्बन्धित रहेको थियो। तर बैठक सुरुभएपछि सांसद कुसारीले सभापति साहमाथि गम्भीर आरोपहरू समेत लगाइन्। उनले साहले संयोजनको भूमिका आफैँ राख्दै आफ्ना छोरालाई स्वकीय सचिव बनाएर अनुगमन भ्रमणमा लैजाने, र त्यस क्रममा खाली बिलहरू स्वीकृत गराउने गरेको आरोप लगाइन्।
सांसद कुसारीले आफूले माइक र नेमप्लेट प्रहार गरेको पुष्टि गर्दै त्यसले सभापतिलाई नलागेको बताइन्। “भनाभन मात्रै भयो,” उनले भनिन्, “अब कि म त्यो समितिमा बस्दिनँ, कि सभापतिलाई हटाउनुपर्छ।” साथै, उनले सभामुख देवराज घिमिरेले आफूलाई छलफलका लागि बोलाएको जानकारी पनि दिइन्।