© २०२३
नेपालगञ्ज, ७ जेठ ।
बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले कर्मचारीहरू समयमा नआएको भन्दै गाउँपालिका कार्यालयको गेटमा करिब चार घण्टा ताला लगाएकी छन् । समयमा कर्मचारीहरू हाजिर नहुने समस्या बारे कार्यपालिका तथा कर्मचारी बैठकमा पटक–पटक छलफल गरिए पनि कर्मचारीले वास्ता नगरेपछि बाध्य भएर उपाध्यक्ष रोकायाले बुधबार ताला लगाएकी हुन् । कर्मचारीले सधैं अनुशासन नमान्ने प्रवृत्तिलाई बुधबार पनि निरन्तरता दिएपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष रोकायाले बताइन् ।
आफू समयमा पालिका पुगेर कर्मचारीलाई पर्खिँदा पनि कोही नआएपछि बुधबार बिहान १०ः१७ बजे मूलद्वारको च्यानल गेटमा ताला लगाएको बताइन् । उनले भनिन्, “आज म ठीक १० बजे पालिकामा पुगेकी थिएँ, तर एक–दुई जना कार्यालय सहयोगी बाहेक कोही थिएनन् । १० बजेर १७ मिनेट जाँदा समेत ७ जना कर्मचारी मात्र आएको थाहा पाएपछि ताला लगाएकी हुँ ।”
कर्मचारीहरूमा पदीय मर्यादा र अनुशासन हराउँदै गएको उनको आरोप छ । “समयमा कार्यालय नआउने, कार्यालय आउँदा कर्मचारी पोशाक पनि नलगाउने, जतिखेर मन लाग्यो काम छाडेर कार्यालय बाहिर निस्कने — यस्ता प्रवृत्ति धेरै पटक सम्झाउँदा पनि नटेरेपछि त्यस्ता कर्मचारीलाई चेतावनी दिन ताला नलगाएर के गरौँ त ?” उनले प्रतिप्रश्न गरिन् ।
“गाउँपालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखा प्रमुख तालिममा जानुभएको छ । उहाँहरू बाहेक अरू कोही पनि शाखा प्रमुख समयमै कार्यालयमा उपस्थित हुनुभएन,” उनले भनिन् ।
गेटमा आफूले ताला लगाएको बारे प्रमुख प्रशासकीय अधिकृतलाई फोनमार्फत जानकारी गराएको र कार्यालय समयमा हाजिर नहुने कर्मचारीको बानी तत्काल सुधार्न निर्देशनसमेत दिएको उपाध्यक्ष रोकायाले बताइन् ।
उनले भनिन्, “ताला लगाइएको कारणबारे प्रतिवेदन पनि तयार पारेर राखेकी छु, प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन पनि बुझाउने छु ।”
उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि ढिलो आउने कर्मचारी र सेवाग्राहीहरू बाहिर बस्नुपरेको थियो । तालाबन्दीका कारण करिब पौने ४ घण्टासम्म बाहिर बसेका कर्मचारीहरूले अब समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे आफैँ ताला खोलिएको उपाध्यक्ष रोकायाले बताइन् ।