© २०२३
काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वलाई नयाँ पाठ सिकाएको छ । २५ बुँदे सगरमाथा कल फर एक्सन घोषणापत्र जारी गर्दै सगरमाथा सम्बाद सम्पन्न हुनु आयोजकको हिसावले नेपालका लागि गौरवको कुरा हो । यति ठूलो र विश्वव्यापी मुद्दा उठान गर्नु र विश्वलाई सन्देश दिनु नेपालको ठूलो उपलब्धि हो । घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरू एकमत भएका छन् । जुन नेपालले गरेको अगुवाईको महत्वपूर्ण उपलब्धि हो भन्दा अत्युक्ति हुँदैन । सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ ।
जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरूले अनुदान स्वरूप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने घोषणापत्रमा उल्लेख छ । जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औसत तापमान १ दशमलव ५ डिग्रीबाट बढ्न नदिनका लागि सबै राष्ट्रहरूले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ । जुन विश्वका लागि ठूलो सन्देश हो । त्यसैगरी विपद् पूर्व सूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ । जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रस्ताव पनि घोषणापत्रमा गरिएको छ ।
घोषणपत्रले गरेका मार्गदर्शन अनुसरणमा ध्यान दिने हो भने नेपालबाट सुरु भएको सगरमाथा सम्बाद विश्वकै लागि कोसेढुंगा सावित हुने कुरामा दुईमत छैन । जेहोस सगरमाथा संवादको पहिलो संस्करणले जलवायु संकटविरुद्ध सामूहिक कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको छ । नेपालबाट भएको यो आह्वान सार्थक र महत्वपूर्ण छ । हिमनदी र हिम क्षेत्रहरू घट्दै गए अन्ततः मानव सभ्यता नै संकटमा पर्नसक्ने सम्बादको निष्कर्ष छ । हिमनदी नष्ट हुँदै जाँदा समुद्री सतह वृद्धि मात्र नभई पहिरो, बाढी, खडेरी जस्ता मौसमी घटनाहरू आउने चुनौतिको सामना गर्नुपर्ने अवस्था छ । संवादमा सहभागीहरू हिमालय मुलुकका समुदायको कार्बन ग्यास उत्सर्जनमा नगन्य भूमिका भए पनि असमान रूपमा जलवायु संकटको चपेटामा परिरहेको विषयमा सहमत भएका छन् । सबै मुलुकले जलवायु न्याय सुनिश्चित गर्न, विकासशील देशहरूलाई न्यायोचित, समावेशी र प्रमाण आधारित समाधान उपलब्ध गराउन आवश्यक रहेकोमा सगरमाथा सम्बादले जोड दिएको छ ।
नेपालले ‘सगरमाथा कल फर एक्सन’ नाममा जारी घोषणा पत्रमार्फत जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन नेपाल सफल भएको दावी गरेको छ । निश्चितरूपमा यो दावीमात्रै होइन, संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेकोमा पनि जोड दिइएको छ । संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा समेत उठाइने प्रतिवद्धता गरिएको छ । जुन जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने साझा प्रतिबद्धतामा महत्वपूर्ण सावित हुनेछ । नेपालजस्तो प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देशले हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गर्न बाध्य हुनुपरेको छ । जसले जनजीवनमा विनाशकारी असर पारेको छ । बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पु¥याएको छ । यस्तो अवस्थामा सगरमाथा सम्बादले उठाएको मुद्दा सम्बोधनमा ध्यान दिनु जरुरी छ । जेहोस सार्थक र उपलब्धिमूलक कार्यक्रम गरेर नेपालले विश्वको ध्यान तान्न सफल भएको छ । यो खुसीको कुरा हो ।