© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लिखित स्पष्टीकरण माग गरेका छन्। पाण्डेमाथि आचरणसम्बन्धी अनुशासन उल्लङ्घन गरेको लगायतका गम्भीर आरोप लागेका छन्।
महानगर स्रोतका अनुसार गुरागाईंले सात बुँदे स्पष्टिकरण पत्र पठाएका छन्, जसमा पाण्डेले कर्मचारी आचारसंहिता नमान्ने, सञ्चार माध्यममा अनधिकृत टिप्पणी गर्ने, जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गर्ने जस्ता आरोप समेटिएका छन्। त्यस्तै, वातावरण शान्त पार्न दिइएको निर्देशनको अवज्ञा गर्दै स्थिति झनै तनावपूर्ण बनाउने कार्यमा संलग्न रहेको पनि पत्रमा उल्लेख गरिएको छ।
सबैभन्दा चासोको विषय भनेको, गुरागाईं आफैं कार्यालय पुग्दा पाण्डेले बाटो छेकेर अवरोध गरेको भनिएको घटना हो, जसले विवादलाई थप गहिरो बनाएको छ। यस विषयमा मंगलबार पाण्डेले स्पष्टीकरण आएको पुष्टि गरे, तर टिप्पणी गर्न अस्वीकार गरे। उनका शब्दमा: “यस विषयमा म केही बोल्दिनँ, बाँकी आफैं बुझ्नुस्।” महानगरले पाण्डेलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन आग्रह गरेको छ। तोकिएको समयमा जवाफ नआएमा वा जवाफ चित्तबुझ्दो नलागेमा, नियमानुसार कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ।