© २०२३
देशमा लोकतन्त्र आएको लामो समय भैसकेको छ । नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न पाए कि पाएनन ? त्यो समीक्षाको कुरा होला । ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरूमात्रै होइन, दूरदराजका जनता भने आशाबादी भन्दा निरासाको पीडा सुनाउँछन । लोकतन्त्र आउँदा जनताले जुन आशा र अपेक्षा राखेका थिए, यतिका बर्षसम्म पनि लोकतन्त्रले ल्याएको परिवर्तनको अनुभूति गर्न नपाएकोमा जनतामा खिन्नता छाएको छ । जनतामा निरासाको बादल हटन नसक्नु चिन्ताको कुरा हो । लोकतन्त्र उन्नत व्यवस्था भनियो तर अझैपनि देशले ठूलो व्यापार घाटाको अवस्था बेहोरीरहेको छ । देश विदेशी ऋणमा डुवेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमय हुँदापनि युवाहरू स्वदेशमा भविष्य नदेखेरै विदेश पलाउन हुन बाध्य छन । आफ्नो उत्पादन छैन, घरखेत खाली छ । सामाजिक सद्भाव खल्बलिएको छ । नेपालको संविधान २०७२ ले धेरै विषयमा जनताको अधिकारको प्रतिबद्धता जाहेर गरेको छ । तर, व्यवहारमा प्रयोग हुन नसकेको आम नेपाली जनताको गुनासो छ । सबै किसिमका हक–अधिकार, महिला तथा बालबालिकाका अधिकार, ज्येष्ठ नागरिक, अपांग, अशक्तहरूको विशेष सुरक्षा, भेदभावरहित समाजको परिकल्पना आज चुनौति वन्दैछ । राज्यको जवाफदेहिता निष्प्रभावी हुँदै गएको छ ।
सिद्धान्ततः नेपालले आफ्नो प्रतिबद्धता जाहेर गरे पनि व्यवहारतः अधिकारका विषयमा नेपाल धेरै पछाडि परेको छ । के पुरुष के महिला निमेष गरेर पनि खान पुग्ने अवस्था छैनन् । छोराछोरी पढाउने अवस्था छैन । महंगी बढेको बढ्यै छ तर उपभोक्ताको क्रयशक्ति निरन्तर ओरालो लागीरहेको छ । सवैले उही पीडा, रोदन र आक्रोस सुनाउँछन । त्यसमध्येकी एक पात्र हुन– बुटवल १७ रानिगञ्जकी अनिता जि.टी राना । विहान सबेरैदेखि बेलुका अबेरसम्म ई–रिक्सा चलाउँछिन । उनलाई आफ्नो खानपान, स्वास्थ्य सुरक्षाबारे केही परवाह छैन । परवाह छ त केवल यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने । ६ वर्षदेखि बुटवलमा ई–रिक्सा चलाउदै आएकी अनिताले दुई वर्षसम्म भाडामा लिएर चलाईन । त्यसपश्चात भने आफैले कमाएको रकमबाट ई–रिक्सा खरिद गरि सवारी साधनको धनी बन्दै श्रम गर्न थालिन । सुरुसुरुमा रिक्सा चलाउँदा महिलालाई विश्वास नगर्ने कुराले भने उनलाई अहिलेपनि झस्काउँछ । धेरैजसो पुरुष यात्रुहरूले गन्तव्यमा जानका लागि रिक्सा रोकाउने, चालक महिला देखेपछि ए तपाई हो चलाउने, भयो भो अर्कोमा जान्छौ भनेर पटकपटक सिप र क्षमतामाथि प्रश्न खडा गर्थे । युवाहरूले महिला देखेर जिस्काउने, अपशब्दहरू बोल्ने र केटीले पनि यस्तो काम गर्ने हो भन्थे । केही दिन अघि अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८२ को अवसर पारेर बुटवल उपमहानगरपालिकाले तीसजना श्रमिकहरूलाई जनही दश हजार नगद सहित सम्मान गरेको थियो । ती मध्ये अटोरिक्सा चलाउने श्रमिकबाट अनिता पनि सम्मानित भएकी थिइन । त्यो सम्मानले उनलाई आफ्नो् पेशाप्रति थप विश्वासनियता र जिम्मेवार वनाएको महसुस गरेकी छन् ।
त्यसैगरी ई–रिक्सा चालक शोभा घिमिरेले अहिलेपनि यात्रुहरूले रिक्सामा चढ्दाखेरी एकखालको यति भाडा दिने भनेर सहमति हुन्छ तर गतब्यमा पुगिसकेपछि कम भाडा दिएर उल्टो गाली गलोज गर्ने प्रवित्ति अहिले पनि रहेको गुनासो गरिन । उनी बुटवल ११ देवीनगरमा बस्दै २०७३ सालदेखि अटोसिक्सा चलाउँदै आएकी छन् । काम जे गरेपनि सम्मान गर्नुपर्दछ भन्ने कुरा सुनिन्छ तर हामीजस्ता श्रमिकहरूले पूर्णरूपमा सबै तहबाट सम्मानजनक व्यवाहारको महसुस गर्न पाएका छैनौ । फेरी सबैतिरबाट त्यस्तो पनि छैन, कतिपय यात्रुहरू महिलाले चलाएको अटो खोजी खोजी यात्रा गर्नुहुन्छ, मागेको भाडा भन्दा बढी दिएर ल यो कामलाई निरन्तरता दिनुहै भन्नुहुन्छ । विभिन्न संघसंस्था, स्थानीय सरकारले खोजी खोजी नगद र प्रमाणपत्रले सम्मान गर्दै हौसला दिनुहुन्छ । गरिरहेको काम छौडौ कि भन्ने लागिरहेको बेला यस्तो खालको सम्मान र हौसलाले पुनः पेशाप्रति फर्काईरहेको छ ।
बुटवल उपमहानगरपालिकाले विद्युतीय रिक्सा संचालन, ब्यवस्थापन तथा नियमन कार्यविधि २०७६ बनाएर कार्यान्वयन गर्दै आएको छ । सुरुवाती अवस्थामा एक हजार १८ वटा मात्र ई–रिक्सालाई रुट अनुमति दिईएकोमा हाल १ हजार ४४० लाई अनुमति दिने गरि मापदण्ड बनाईएको छ । बुटवल उपमहानगरपालिकाका राजश्व प्रशासन शाखा अधिकृत पुष्पराज ज्ञवालीका अनुसार बुटवल उपमहानगरपालिकामा दर्ता भई रुट अनुमति पाएका ई–रिक्सा तथा टेम्पोधनी आजको मितिसम्म १ हजार ४१३ जना रहेका छन् । जसमध्ये ई–रिक्सा धनी महिलाको संख्या दुईसय ५९, टेम्पो धनि महिलाको संख्या ४ रहेको छ । सवारी साधन धनीको संख्यामा बढी भएपनि ई–रिक्सा चालक महिला ७२ जनामात्र रहेका छन् । त्यसो त बुटवल उपमहानगरपालिकाले एकल महिला वा महिलाका नाममा दर्ता भएका ई–रिक्सालाई दर्ता र रुट अनुमतिमा विशेष प्राथमिकता दिएका कारण पनि चालक भन्दा महिलाका नाममा दर्ता भएका सवारी साधन अटोरिक्साको संख्या बढी भएको अनुमान गर्न सकिन्छ । बुटवल उपमहानगरपालिकाका उप प्रमुख एवं ई–रिक्सा ब्यवस्थापन समिति संयोजक सावित्रा अर्यालले बुटवल उपमहानगरपालिकाको विद्युतीय रिक्सा संचालन, ब्यवस्थापन तथा नियमन कार्यविधि २०७६ को मापदण्डमा प्राविधिक सल्लाह अनुसार ई–रिक्साको इन्जीनले पूर्णरूपमा काम गर्ने भनेको ५ वर्षसम्म भनेर उल्लेख गरिएको बताईन् । अहिले जुन रिक्सा संचालन भईरहेका छन् तिनीहरू पुरानो भएका हुनाले कार्यविधिको मापदण्ड अनुसार इन्जिनहरू खराव भएका छन् । यि रिक्साहरूलाई सम्बन्धीत प्राविधिकसँग चेकजाँच गरेर परिपूर्ति सहित १ हजार ४४० ई–रिक्सा संचालनमा ल्याउने तयारी हामीले गरिहेका छौ भन्छिन । उनका अनुसार धेरै जिल्लाका मानिसहरू बुटवलमा आएर बस्ने जस्तो चितवन, दाङ, रोल्पा, रुकुम, कपिलबस्तु, नवलपरासी लगायत जताततैका मानिसहरू बुटवलमा आएर ई–रिक्सा संचालन गर्नुभएको छ । यसर्थ बुटवलमा ई–रिक्सा ब्यवस्थापनमा असाध्यै चुनौती छ । यि सबैलाई चल्न दियौ भने बुटवल अव्यवस्थित हुन्छ । तर हामीले ई–रिक्सा व्यवस्थापन कार्यविधि अनुसार १ हजार ४४० भन्दा बढी एउटा पनि अटोलाई चल्न दिदैनौ । ई–रिक्सा संचालन व्यवसायीहरूलाई जानकारी गराउन चाहान्छौ ।
तपाईको रिक्सानगरप्रहरी र ट्राफिक प्रहरीले चेकजाँच गर्दा बुटवल उपमहानगरपालिकामा दर्ता नभई चलेको छ भने उनीहरूले छोपेर पालिकामा ल्याउनुहुन्छ । यसरी ल्याँउदा पहिलो पटकमा रु ५,०००, दोस्रो पटकमा रु ८,००० , तेस्रो पटकमा रु १०,००० र यो भन्दा बढी जतिपटक आउनुहुन्छ क्रमश जरिवाना बढ्दै जाने हो । यसैले दर्ता नभएका रिक्सा व्यवसायीहरूले समयमै सचेत भएर अन्यन्त्र पालिकाहरूमा दर्ता गर्ने वा अन्य पेशा अपनाउनु हुने छ भन्ने लागेको छ । १ हजार ४४० ई–रिक्सालाई भने बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ मा बजेट विनियोजन गरेर चालकहरूलाई एकै खालको ज्याकेट दिने र ज्याकेट नलाएर चलाएको पाईएमा त्यो रिक्सा छोपिने र कार्यविधिको मापदण्ड अनुसार जरिवानामा पर्दछ । अटेरी गरेको अवस्थामासवारी साधन निकाल्न पनि नमिल्ने हुनसक्छ । बुटवलमा जति चुनौती भएपनि हामीले निर्माण गरेको कार्यविधिलाई टेकेर ब्यवस्थापन गर्नुपर्ने उपप्रमुख अर्यालको अडान छ । बुटवल उपमहानगरपालिकाले महिलाहरूको सशक्तीकरणका लागि विशेषगरि एकल महिला र महिलाहरूलाई ई–रिक्सा संचालनमा अनुमति दिईएको नगर प्रमुख खेलराज पाण्डेले बताए ।
आर्थिकरूपमा सशक्त नभएका कारण धेरैजसो महिलाहरू हरेक क्षेत्रमा पछाडि परिरहेको अवस्थालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले महिलाहरूलाई पहिलो प्राथमिकतामा राखेको हो । महिलाहरूले कमाउँदाखेरी घरमा छोराछोरीको पढाईमा खर्च हुने, परिवारको खानपान र स्याहार सुसारमा खर्च हुने र त्यो परिवार व्यवस्थित भएको हुन्छ । त्यतिमात्रै नभएर महिला चालकहरूको मिजासिलो व्यवहार, सन्तुलित भाडा लिने र ईमान्दारितापनले पनि विश्वास जगाएको छ । यसर्थ महिलालाई ई–रिक्सा संचालन तथा रुट अनुमतिमा महिलाहरूलाई विशेष प्रदान गरिएको नगर प्रमुख पाण्डेले भने । बुटवलको सडक क्षमताले अन्य सवारी साधन सहित ई–रिक्साको संख्यालाई धान्न सक्ने हो त्यस विषयमा कुनैपनि कन्जुस्याई नगरि मन फुकाएर दर्ता र अनुमति दिने गरेको उपमहानगरको भनाई छ । सडक क्षमताले धान्नेभन्दा र पालिकाले बनाएको कार्यविधिको मापदण्डभन्दा माथि जान नमिल्ले बाध्यतालाई बुझेर ई–रिक्साधनी र सम्बन्धीत व्यवसायीक संगठनले उपमहानगरपालिकालाई ई–रिक्सा व्यवस्थापनमा सहयोग गर्न नगर प्रमुख पाण्डेको अपिल छ ।
२०४९ सालदेखि बुटवलमा रिक्सा संचालन गर्दै आएका व्यवसायी कृष्णप्रसाद तिवारी अहिले रिक्सा, इ–रिक्सा र टेम्पो व्यवसायीहरूको छाता संस्था हरियाली यातायात प्रालिका अध्यक्ष हुन । जव उनी खुट्टे रिक्सा संचालन गर्दै व्यवसायमा प्रवेश गरेका थिए, रिक्सा व्यवसायी समितिमा प्रवेश गरेर काम गर्न थाले । साविक बुटवल नगरपालिकाभित्र रिक्सा ४ हजार पाँचसय संख्यामा रिक्सा चलेको उनी बताउँछन् । त्यति रिक्सा चल्दै गर्दा बुटवल उपमहानगरपालिकामा जम्मा १ हजार ३०० रिक्साचालकले कर तिरेका थिए । त्यतिबेला नै रिक्सा व्यवसायीहरूले अव बुटवलमा रिक्सा व्यवस्थापन गर्नुपर्दछ भनेर आवाज उठाएको हो । रिक्सा चालकको नाममा चोरी लगायत अन्य अनैतिक कार्यमा संलग्न भएका घटनाहरू बाहिर आउनथाले । यि घटनाले सबै रिक्सा व्यवसायीमाथि प्रश्न उठ्न थालेका कारण संगठित भएको उनको भनाई छ । यसको नियमन कसले गर्ने त भनेर व्यवसायी जति मिलेर जिल्ला प्रशासन कार्यालय रूपन्देहीको कार्यालयमा ज्ञापनपत्र बुझाएको र तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले रूपन्देहीका सबै पालिकाहरूलाई बोलाएर छलफल गरि रिक्सा व्यवसायको लागि दर्ता, संचालन र नियमन गर्ने निकायको रूपमा पालिकालाई जिम्मेवारी प्रदान गरियो ।
अन्य पालिकाको हकमा के छ थाहा भएन बुटवल उपमहानगरपालिकाले यस कार्यलाई निरन्तरता दिएको छ र व्यवस्थित पनि भएको थियो । अहिले उपमहानगरपालिका, रिक्सा व्यवसायी र सम्बन्धीत संघसंस्थाहरूवीच छलफल, समन्वय र सहकार्य हुन नसक्दा ई–रिक्सा व्यवस्थापनमा चुनौती देखिएको छ । जेहोस मुलुकमा गरिखाने श्रमिक बर्गको पीडा अझै उस्तै छ । तन्त्रका नाममा जुन शासन आएपनि सिमान्तकृत महिला र पुरुष वर्गमा परिवर्तनको अनुभूति आउन नसक्नु बिडम्वना हो । पछिल्लोसमय पुरुषमात्रै होइन, महिला पनि रोजगारीका अनेक आयाममा जोडिएका छन । तर, समाजले महिलाले गरेको श्रम र स्वरोजगारको अझै सम्मान दिन सकिरहेको छैन । समाज बदलिएको छ तर महिलामाथि हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन कहिले आउला ?