© २०२३
बुटवल, ६ जेठ
विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको हो ।
रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।