© 2026
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सम्झौता नगर्ने हो भने “हेलिकोप्टर चढेर भाग्न” छुट दिनुपर्ने टिप्पणी गरेका छन्। जेठ १५ गतेबाट सुरु हुने भनिएको राजावादी पक्षधरको आन्दोलनको तयारी बैठकमा उनले संसदमा प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिलाई जवाफी रूपमा कटाक्ष गरे।
प्रधानमन्त्री ओलीले उमेरको आधारमा भाग्न सकिन्न भनेको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लिङ्देनले भने, “उमेरको हिसाबले भाग्न सकिन्न भन्नुभयो, भाग त भन्नुभएन नि हो, सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जान छुट दिनुपर्छ।”
लिङ्देनले जेठ १५ देखि सुरु हुने आन्दोलन शान्तिपूर्ण र निरन्तर हुने दाबी गर्दै सरकारले दमन गरेर आन्दोलनलाई हिंसामा उक्साउने मौका नपाउने स्पष्ट पारे। उनले मानवअधिकार आयोग तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आन्दोलनको निरीक्षण गर्न अनुरोध गरिने पनि जानकारी दिए।
त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेताहरू नै रहने बताउँदै, “कुटाइ खानु परे अग्रभागमा रहेका नेताहरूले खाने छन्,” भनेर आन्दोलनमा सर्वसाधारणलाई ढुक्क भएर सहभागी हुन आग्रह गरे।
राप्रपाको नेतृत्वमा हुने भनिएको यो आन्दोलनले राजसंस्था पक्षधरहरूको गतिविधिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।