© २०२३
सुर्खेत,६ जेठ ।
सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा नेकपा माओवादीका सांसदहरु उपस्थिति भएनन् । प्रतिपक्ष दल सहभागी नभएपछि प्रदेशसभा बैठक अवरुद्ध भयो । सभामुख नन्दा गुरुङले बैठक अगाडी बढाउँदै जाँदा काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत बिष्टले प्रतिपक्ष दलको उपस्थिति बिना संसद अगाडि बढाउन नहुने धारणा राखे । उनले संसद प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराइन् । सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।
यता प्रतिपक्ष दलका सांसद कृष्णबहादुर जिसीले आफुहरु बैठकमा सहभागी नभएको जानकारी गराए । उनले बैठकमा महत्वपूर्ण एजेण्डा नभएको बेला पनि संसद बैठक बोलाएको भन्दै आफुहरु बैठकमा सहभागी नभएको बताए । ‘सबैभन्दा त बैठकको लागि कुनै जेनुन एजेण्डा नै थिएन’ माओवादीका प्रमुख सचेतक समेत रहेका जिसीले भने, ‘त्यसकारण हामीले बैठक बहिष्कार गरेका हौ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा हामीले जेठको ७-८ गतेसम्म बोलाउँदा हुन्छ भनेर जानकारी गराएतापनि बिना एजेण्डा नै सत्तापक्ष दलहरुले सोमबारलाई नै बैठक बोलाएपछि आफुहरु सहभागी नभएको उनको भनाई थियो ।
‘विगतमा नेपाली काँग्रेस र एमाले प्रतिपक्षमा रहेको समयमा उहाँहरु बैठकमा सहभागी भएर बहिष्कार गर्नुहुन्थ्यो’ उनले भने, ‘बैठक अवरुद्ध गरेर भत्ता लिनुभन्दा असहमति हुँदाको दिनको भत्ता समेत नलिदा राम्रो हुन्छ भनेरै उपस्थिति नभएरै बहिष्कार गरेका हौ ।’ जिसीले ‘मध्यपहाडी राजमार्ग अभियान’ मा सहभागीको लागि संसद बैठकमा सहभागी नभएको टिकाटिप्पणीहरु आएतापनि त्यसो नभएको जिकिर गरे । ‘यो अभियान त चार गतेदेखि नै यहाँ सञ्चालन भएको थियो, चार गतेको संसदमा त हामी सहभागि भएका थियौ’ उनले भने, ‘हामी एजेण्डा नभएकाले नै बैठकमा नगएका हौ ।’