© २०२३
नेपालगञ्ज, ०६ जेठ ।
आगोबाट जलेका बिरामी उपचारका लागि काठमाडौं वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता थियो । सरकारको घोषणा अनुसार एक महिना यता नेपालगन्जको भेरी अस्पतालले आगलागीमा जलेकाहरूलाई निःशुल्क उपचार दिन सुरु गरेपछि जलन वार्डमा विरामीको चाप बढेको छ । भेरीले ६ शैयाको छुट्टै वार्ड स्थापना गरेर निःशुल्क उपचार सेवा दिन सुरु गरेपछि दैनिक रूपमा विरामी आउने गरेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट निराजन सुवेदीले बताए । उनले भने, ‘सरकारको घोषणाअनुसार नै ६ शैयाको छुट्टै वार्ड स्थापना गरेर निःशुल्क उपचार सेवा सुरु ग¥यौं, हालसम्म ६ वटै बेड भरीभराउ छ ।’
बर्दिया ठाकुरबाबाका ३४ वर्षिय प्रकाश थारु काठको काम गर्न गुलरियामा थिए । एकाबिहान खाना बनाउदै गर्दा आएको हावाहुरीले आगो फैलदा उनको अनुहार र दुबै खुट्टा जले । बर्दियामा उपचार नहुँदा अहिले उनी नेपालगन्जको भेरी अस्पतालमा उपचार गराइरहेकाछन् । काममा गएको बेला खाना पकाउने जिम्मा मेरो थियो । उनले भने, ‘हावा चलिरहेकोले एक्कासी चुल्होको आगोले कपडामा समात्यो, निभाउन खाज्दा आँखा सम्म पोल्यो अनि गुलरियामा उपचार नभएपछि सिधै भेरी अस्पतालमा आएँ ।’
गर्मी यामको समयमा फरक फरक तरिकाले मानिसहरू आगोबाट जलेका घटना देखिन्छन् । तातिरहेको पानी बच्चाले शरिरमा खनाइदिएपछि बाँके नरैनापुरकी २९ वर्षिया रेनु तमौलीको अनुहार, छाति र हात जलेको छ । उनी पनि एक हप्तादेखि भेरी अस्पतालमा उपचार गराइरहेकी छन् । तमौलीले भनिन्, ‘इलेक्ट्रेक जगमा तताउन राखेको पानी एक्कासी सानो बच्चाले उठाउन खोज्दा छाती र हातमा प¥यो ।’आगलागिबाट घाइते भएकाहरूलाई निको हुन महिनादिन भन्दा बढी समय लाग्ने गरेको छ । १० दिनदेखि आमाको उपचार गराइरहेकी बाँके बैजनाथकी मिना थारु अस्पतालसंग नभएको औषधि आफैले किन्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘उपचार निशुल्क भएपनि विरामीलाई आवश्यक पर्ने सबै औषधी अस्पताल भित्र उपलब्ध नहुँदा बाहीर किन्नुपर्ने भएर खर्च धेरै नै हुन्छ ।’ टाढाबाट आउने बिरामी र कुरुवालाई खानासँगै औषधी किन्नुपर्दा खर्च बढी लाग्ने गरेको उनले बताइन् ।
विगतका तथ्यांकहरूले मध्य चैत्रदेखि जेठसम्म आगलागिका घटना बढी हुने गरेको देखाउँछ । विगत १५ वर्षको अवधिमा बाँकेमा आगलागिका घटनामा ५८ जना घाइते भएका छन् भने ७ जनाको मृत्यु भएको रेडक्रसको तत्थ्यांक छ । अहिले भेरीमा सन्चालन भएको ६ बेडको जलन वडा भरिभराउ रहेको र थप विरामी आएमा बेड नपुग्ने देखिएको जलन वार्डमा कार्यरत कर्मचारी बताउँछन् । अझै साधन श्रोत आवश्यक रहेकोले माग गरिएको वार्डमा कार्यरत नर्स शान्ता नेपाली बताउँछिन् । उनी भन्छिन् ‘धेरै सामाग्रीको अभावमा पनि डक्टरहरूले सुरुवातमा उपचार गरिरहनुभएको छ, आवश्यक सामग्रीको माग गरेका छौं ।’ कोही विरामीलाई एक देखि दुई महिना सम्म वार्डमै राखेर उपचार गर्नुपर्ने हुँदा विरामीको अवस्था अनुसार थप सामग्री आवश्यकताको भएको मभहसुस भईरहेको उनको भनाई छ । एक महिनामा जलन वार्डबाट २८ जना भन्दा बढीले सेवा लिइसकेका छन् । वार्ड सन्चालन गर्न अस्पतालका ३ जना स्वास्थ्यकर्मीले तालिम प्राप्त गरेका छन् । तर अपुग साधनश्रोत र जनशक्ति थपेर अस्पतालले सेवा थप प्रभावकारी बनाउन जरुरी छ ।