© २०२३
बुटवल, ५ जेठ । सूचना प्रविधिको तीव्र प्रयोगसँगै समाजमा बढ्दै गएको साइबर अपराध प्रति सचेतना फैलाउने उद्देश्यले बुटवलमा एक दिने सचेतना कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यालय बुटवल र सुरक्षित यात्रा नेपालको सहकार्यमा चैतन्य एकेडेमी बुटवलले एम्स कलेजका विद्यार्थीहरुलाई एक दिने सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले सहभागिहरुलाइ प्रशिक्षक दिदै अनलाइन ठगी, सट्टाबाजी, अभौतिक मुद्रा कारोबार, सामाजिक सञ्जाल दुरुपयोगजस्ता विषयमा विस्तृत जानकारी दिए । समुदाय–प्रहरी साझेदारी अन्तगत ईलाका प्रहरी कार्यालय बुटवल निरन्तर सचेतना कार्यक्रमलाई जोड दिदै आएको उनले बताए । विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्दै उनले प्रहरीमा निवेदनको उजुरी, अपराधका प्रवृत्ति, अनुसन्धान, समाधानका विषयमा जानकारी दिए । अभौतिक मुद्राको कारोबार नेपालको कानुनले बन्देज गरेको छ। यस विषयमा आम नागरिक सचेत हुनेमात्र होईन । ‘प्रहरीलाई सुचना पुर्याएर सहयोग पुर्याउनु आम नागरिकको जिम्मेवारी हो ।’–उनले भने ।
हरेक दिन जसो मानिस समुदायमा देखिएको बढ्दो साईबर अपराधलाई मध्येनजर गरि कार्यक्रममा जोड दिएको उनले बताए । अनलाईन माध्यमबाट ट्रान्जेक्सन गर्दा भेरिफाई जरुरी रहने उनले बताए ।
कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्बासेले संस्थागत रुपमा समाजका युवा वर्गमा सचेतना जगाउने लक्ष्यसहित आफुहरु लागेको बताए । सडक दुर्घटनाका विगतबाट नै कार्यक्रम गर्दै आएको संस्था समुदायमा देखिने हरेक किसिमका समस्याहरुको बारेमा सचेतना जगाउने कार्यक्रममा सहकार्य गर्ने उनले बताए ।
कार्यक्रममा कलेजका प्रमुख दिपक ढकालले सुचना प्रविधिको प्रयोगले आम नागरिकको जिवनशैली सरल र सहज बनाउनुका साथै सहि प्रयोगको अभावमा समस्या बढाउने काम भएको बताए । प्रलोभनकै कारण धेरै जना फस्ने गरेको उनले बताए ।
कार्यक्रममा एम्सका प्लस टु संयोजक चेतनारायण पन्थी, प्राध्यापक बासु बेल्बासे, सागर भुषालले रचनात्मक काममा सरोकारवाला संस्थाहरु एकजुट भएर अभियान थाल्नुपर्ने बताए ।