© २०२३
बुटवल, ५ जेठ । बुटवलमा जारी ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ मा जेके वारियर्सले दोस्रो जितसंगै ४ अंक जोडेको छ । “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित युवाबीच खेलमैत्री भावना विकास हुने गरि देवीनगर क्रिकेट क्लबको आयोजनामा अक्सन प्रणालीमार्फत संचालन भएको क्रिकेट लिग प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा प्रिन्ट हब किङसलाई ११ रनले पराजित गरेको हो ।
देविनगरस्थित खेलमैदानमा भएको खेलमा जेके वारियर्सले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ६ विकेटको नोक्सानीमा १३६ रनको लक्ष्य खडा गरेको थियो । जेकेका जनक न्यौपानेले ५९ तथा निरज बिष्टले १८ रनको योगदान दिए । प्रिन्ट हब किङसका जिवेस पन्थ, फर्सुराम र शुभम केसीले समान २–२ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको प्रिन्ट हब किङस १५ ओभरमा ५ बिकेट गुमाउदै केवल १२५ रनमात्र जोड्न सफल भयो । उसका लागि जगत क्षेत्रीले ५९ तथा शुभम केसीले ३३ रन जोडेपनि जितका लागि पर्याप्त भएन । जेकेका जनक, कमल रायमाझीले समान २–२ विकेट लिए । खेलमा जेकेका जनक न्यौपाने प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विभिन्न संघसंस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निर्मल ज्ञवालीले बताए । एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स चार टिम रहेको खेल संयोजक अनिल पाण्डेले बताए ।