© २०२३
काठमाडौं, ५ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन्।
नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपालका लागि ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गरेका छन्। यो नेपालको लागि गर्वको क्षण भएको भन्दै ओलीले खुसी व्यक्त गरेका छन्।
‘नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि, २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलो पटक प्रवेश गरेको छ, नेपालका लागि गर्वको क्षण हो, हार्दिक बधाई तथा शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्।
सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको हो। नेपाल शीर्ष दुईमा पर्दै ग्लोबल छनोट चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।
सुपर–३ मा पुगेको संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्दै ‘ग्लोबल क्वालिफायर’ मा प्रवेश गरेको हो।