© २०२३
बुटवल, ५ जेठ । प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२ मा कान्ति माबि, दीप बोर्डिङ स्कुल, नबिन माबि र विजयी भएका छन । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा सोमबार भएको खेलमा कान्तिले मोतिपुर माबिलाई ९५ रन, दीपले बुटवल ईलिस स्कुललाई २५ रन, नबिन औद्योगिक माबिले अमर माबिलाई ९ बिकेट तथा ईडनले गणेशज्ञान ज्योती स्कुललाई ८३ रनले पराजित गरेको हो ।
नरेनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोज्दै कान्तिले १२ ओभरमा ४ बिकेटको नोक्सानीमा ११२ रनको लक्ष्य खडा गरेको थियो । कान्तिका लागि बिशाल पौडेलले ३१, मोहमद कलामले १७ रनको योगदान दिए । मोतिपुरका रन्जन घिमिरे र युदिप भुषालले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको मोतिपुर ६.६ ओभरमा केवल १७ रनमा समेटियो । कान्तिका धारिलो बलर सामु मोतिपुरका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कान्तिका बिशाल मरासिनीले ३ बिकेट लिए । कान्तिका बिशाल पौडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि सोमबार नै भएको दोस्रो खेलमा दीपले टस जितेर ब्याटिङ रोज्दै १२ ओभरमा ४ बिकेटको नोक्सानीमा ९३ रनको लक्ष्य खडा गरेको थियो । दीपका नाजिम अलिले नटआउट ३४ रन तथा कृजन गौतमले १५ रनको योगदान दिए । बुटवल इलिटका कुशल थापाले ३ तथा सागर जिएमले १ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको ईलिट ९.३ ओभरमा ६८ रनमा समेटियो । उज्जवल श्रेष्ठले १५, मिलन माबोले १४ तथा विज्ञान घर्तीले १० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । दीपका गौरव बिकले ३ तथा रियान ढकाल र आशिष बिकले समान २–२ बिकेट लिए । दीपका नाजिम अली खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि तेस्रो खेलमा टस जितेर नबिनले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको अमर माबिले १०.५ ओभरमा केवल ३५ रनमा समेटियो । अमरका लागि मनिष थापाले १३ रनको दोहोरो अंकको रनबाहेक अन्य क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न नबिनका केशव सुवेदीले शानदार ५ बिकेट लिए । झिनो लक्ष्यलाई नबिनले २.३ ओभरमा केवल १ बिकेटको नोक्सानीमा भेटायो । नबिनका ओपनर स्वीकृत पौडेलले नटआउट ७ बलमा १९ रन बनाए । नबिनका केशव सुवेदी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि सोमबार नै भएको चौथौ खेलमा टस जितेर ब्याटिङ रोजेको ईडनले निर्धारित १२ ओभरमा ३ बिकेटको नोक्सानीमा १२४ रनको लक्ष्य खडा गरेको थियो । ईडनका हिमाल कुवर आफनो अर्धसतक बनाउनबाट चुके । उनले ३४ बलमा ४ चौका र ३ छक्काको मद्यतले नटआउट ४९ रन बनाए । ओपनर बिमल भट्टराईले २१, सुनिल बिकले १२ रन जोडे । गणेश ज्ञानज्योतीका गणेश पौडेल, रिजन पौडेल र समपर्ण पौडेलले समान १–१ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको गणेश ज्ञानज्योती ८.५ ओभरमा केवल ४१ रनमा समेटियो । उसका लागि समपर्ण पौडेलले १६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । ईडनको जितमा सुभाष दर्जीले २ ओभर बलिङ गर्दै केवल २ रन दिएर शानदार ५ बिकेट लिए । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले बताए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमले प्रतिस्प्रर्धा गरेका छन ।