© २०२३
झापा, ५ जेठ ।
जबरजस्ती करणी र जबरजस्ती चोरीसम्बन्धी दुई फरक अभियोगमा फरार रहँदै आएका प्रतिवादी प्रदिप राईलाई प्रहरीले पक्राउ गरेको छ। उनी मेचीनगर नगरपालिका–११ का ३२ वर्षीय बासिन्दा हुन्।
२०७२ साल असार १६ गते पुनरावेदन अदालत इलामले उनलाई जबरजस्ती करणी तथा चोरी मुद्दामा १० वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको थियो। तर फैसलापछि उनी फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पाँचथरको फिदिमबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला अदालत झापामा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनीलाई झापा कारागार कार्यालयमा कैद भुक्तानका लागि पठाइएको प्रहरीले जनाएको छ।