© २०२३
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म नेपालले झण्डै ४७ अर्ब ८० करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरिसकेको छ, जुन देशको कृषि क्षेत्रमा अझै पनि आत्मनिर्भरता हासिल हुन नसकेको स्पष्ट संकेत हो। कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार खाद्यान्नको तुलनामा निर्यात भने अत्यन्तै न्यून, मात्र ६ करोड २० लाख रुपैयाँ बराबरको भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले खाद्यान्न, तरकारी र फलफूल बालीमा देखिएको व्यापार घाटाको तथ्याङ्क सार्वजनिक गरे। उनका अनुसार खाद्यान्न बालीमा ४७ अर्ब ७० करोड रुपैयाँ बराबरको घाटा देखिएको छ। त्यस्तै, तरकारी बालीमा ३१ अर्ब ५२ करोडको आयात भए पनि निर्यात जम्मा ४० करोड ८२ लाख रुपैयाँमा सीमित छ। फलफूलको क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ, जहाँ १८ अर्ब २० करोडको आयात छ भने निर्यात जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै छ।
यद्यपि मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा बाली उत्पादन सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। साथै, उनले कृषि उत्पादन र वितरणमा सरकारको प्रयासबारे पनि जानकारी गराउँदै, चैत्र मसान्तसम्ममा १५ लाख ६ सय ९२ वटा बेर्ना र बिरुवाहरू बिक्री वितरण भइसकेको उल्लेख गरे।
उनले यो आर्थिक वर्षको अन्त्यसम्ममा पाँच लाख श्रोत बेर्ना तथा बिरुवा नर्सरी र श्रोत केन्द्रहरूलाई विशेष प्राथमिकताका साथ वितरण गरिने लक्ष्य रहेको र बाँकी लक्ष्य जेठ र असार महिनाभित्र पूरा गरिने स्पष्ट पारे। नेपालमा स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनारजस्ता फलफूल भारत, चीनलगायतका मुलुकहरूबाट आयात हुँदै आएको जानकारी दिँदै मन्त्री अधिकारीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले वार्षिक रूपमा र भन्सार बिन्दुहरूबाट नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको जानकारी संसदलाई दिए।