© २०२३
तिलोत्तमा, ५ जेठ ।
तिलोत्तमा नगरपालिका–१ की पवित्रा पाण्डे अहिले ३ छोराछोरीलाई घरमै बसेर लालन पालन गरिरहेकी छन् । करिब १० वर्ष अगाडि वैदेशिक रोजगारीका लागि दुवई पुगेकी पाण्डेलाई त्यहाँको ४ वर्षको भोगाई सम्झदा आज पनि पहाड बोकेजस्तै लाग्छ । “धेरै समय बस्न सकिन, जम्मा ४ वर्ष बसेँ, एक जुनी बिते जस्तै भएको छ”–उनी सम्झन्छिन् । उनले आफ्नोे १५– १६ वर्षदेखि विदेशमा काम गर्दै आएका श्रीमानलाई खुब सम्झिन्छिन् । विदेश सोँचेजस्तो र देखेको जस्तो नभएको पाण्डेको भनाइ छ ।
एउटा काम भनेर अर्काे काममा लगाउने र मानव व्यवहार नै नभए जसरी काम गराउने प्रवृत्ति त्यहाँको मुख्य समस्या रहेको पाण्डेले सुनाइन् । पाण्डेलाई बिदेश जाने महिलाको संख्या बढेको देख्दा र दुःख पाएको सुन्दा आफ्ना भोगाई स्मरण गर्छिन् ।
विदेश जानुभन्दा अगाडि २–४ जनालाई भएपनि जानेको सुनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि उनलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रका विषयमा थाहा भयो र कार्यक्रमसंग जोडिने मौका पनि मिल्यो । “म जाँदा यस्तो थाहा थिएन, बुझेर जान पाएको भए दुःख कम हुन्थ्यो भन्ने लाग्छ । आफै विदेश जाने महिलाका पीडा त कति छन् कति, त्यस्तै पिडा श्रीमान विदेश पठाउनेहरुलाई पनि छ”–उनले भनिन् ।
पाण्डेले श्रीमान् बैदेशिक रोजगारीमा गएपछि आफुलाई समाजले हेर्ने दृष्टिकोणमा फरक महसुस गरेकी छन् । उनले सामी कार्यक्रमबाट मनोसामाजिक तालिम लिएपछि आफुमा धेरै नै परिवर्तन आएको बताउँछिन् । समाजले गर्ने व्यवहार आफुले सोँच्ने सोचाइँ, आफुले गर्ने व्यवहारमा मनोसामाजिक तालिमले उनलाई सिक्ने र बुझ्ने अवसर प्रदान गर्यो । उनले अहिले समुहमा सहकारीका कार्यक्रममा परिवारका सदस्यहरुलाई आफुले जानेका कुरा सिकाउँदै आएकी छन् । आफुले जानेका कुरा अरुलाई सिकाउन पाउँदा खुसी लाग्ने उनको भनाइ छ ।
बिदेश जाँदा चाहिने कागज र ध्यान गर्नुपर्ने कुरा पनि उनले तालिमबाटै सिकिन् । उनले वित्तीय साक्षरता सम्वन्धी ज्ञान नहुँदा दुःख गरेर कमाएको पैसा सक्ने र फर्किएर आउँदा के गर्ने भन्ने पनि थाहा नहुने समस्या रहेको बताउँछिन् । विदेशमा कमाएको पैसा मिलाएर बचाउन सके त्यसपछि फर्केर नेपाल आउँदा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिने समेत उनले बुझाउँदै आएकी छन् । पवित्रालाई श्रीमानका कगजपत्र पनि एक प्रति आफुसंग राख्न र एक प्रति श्रीमानसंगै राख्न पनि तालिमले सिकाएको छ । उनी भन्छिन्, –“श्रीमानले कमाएको पैसालाई उत्पादन क्षेत्रमा लगाएर नेपालमै केही गर्ने सोँच पनि छ ।”
तिलोत्तमा नगरपालिकामा रहेर मनोपरामर्शकर्ता सकुन्तला ढकालका अनुसार बैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै समस्याहरु देखा पर्ने गरेका छन् । विदेशमा पुगेर पाएका दुःख, जान नपाएका दुःख त छँदै छन्, आर्थिक कारणले घरमा हुने हिंसामा समेत वृद्धि भएको ढकाल बताउँछिन् । तिलोत्तमाकै एउटा परिवार श्रीमान बैदेशिक रोजगारीमा गएको शिलशिलामा पैसा नपाएकै आधारमा आफ्नै सासुले विभिन्न लान्छना लगाएपछि घरबाट निस्किने अवस्थासम्म पुगेको उनी सुनाउँछिन् । “तर पछि तिलोत्तमा नरपालिकामा पुगेर सामी कार्यक्रममा सहभागी भएपछि भने सोँचमा परिवर्तन आएको र हाल परिवारसंगै बसेका छन्”–उनले भनिन् ।
बैदेशिक रोजगारी अहिले घरघरको चासो र समस्याको बिषय बन्ने गरेको छ । २०७८ सालको जनगणना अनुसार प्रत्येक परिवारका कुनै एक सदस्य रोजगारीको शिलशिलामा देश भन्दा बाहिर गएको पाइएको छ । यकिन तथ्यांक त छैन, नेपालबाट दिनहुँ १५ सयदेखि २ हजार व्यक्ति अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी कामको खोजीमा जाने गरेका छन् । त्यसो त खुल्ला सिमा भएका कारण भारत काम गर्न जानेहरुको यकिन तथ्यांक छैन । बैदेशिक रोजगारीका बारे धेरै कुरा थाहा नपाउँदा ठगिने दर पनि बढेको छ । ठगी नियन्त्रणका लागि राज्यले अनेकौँ विकल्प लगाउँदा पनि ठगीलाई रोक्न सकेको छैन ।
बैदेशिक रोजगारीको जानकारी दिन र समस्याको सहजीकरणका लागि २०७८ जेठबाट सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजना सुरु भएको छ । जसले पासपोर्ट बनाउने क्रममा बैदेशिक रोजगारीका सजिला, अप्ठ्यारा सिक्नुपर्ने सीप र गर्नुपर्ने कामका बारेमा जिल्ला प्रशासन कार्यालयबाटै थाहा पाउन थालेपछि सजिलो भएको छ भने अप्ठ्यारो फुकेको छ ।
पासपोर्ट बनाउन जाने युवालाई कोठा नम्बर ११ मा पठाइन्छ र सामी परियोजनाका सहजकर्ताले उचित परामर्श दिने गरेका छन् । सन २०२० देखि रुपन्देही जिल्ला प्रशासन कार्यालयमा यस्तै क्रम चलेको छ । सामी परियोजनाको तथ्यांक अनुसार पछिल्लो ४ बर्षमा ५८ हजार भन्दा बढीले त्यहाँ परामर्श लिएका छन् ।
सामी परियोजनाका रुपन्देही संयोजक सीता पन्तका अनुसार करिब १४ करोडभन्दा बढी आर्थिक सहायताका लागि काम गरिसकिएको छ । पन्तका अनुसार बैदेशिक रोजगारीका अवसरमा हुने ठगीमा परिसकेकाहरुलाई निकायहरुसंग आवश्यक समन्वय गरी न्याय निरुपणमा सहयोग पु¥याइएको छ । बिदेशमा गएर अप्ठेरोमा परेकाको उद्दार र मृत्यु भएकाको शव ल्याउनका लागि सहजीकरण गरिरहेको उनी बताउँछिन् । कार्यक्रमले बिदेशमा हराएकाहरुको खोजी र अप्ठेरोमा परेका परिवारलाई प्रकृयागत सहायता समेत गर्दै आएको छ । कार्यक्रमका संयोजक पन्तका अनुसार मनोपरार्श तालिम, बैदेशिक रोजगारीमा गएका परिवारलाई सिपमूलक तालिम र तालिमपछिको कामका लागि सहजीकरण गरिएको छ । सामी कार्यक्रमले रुपन्देहीका ४ वटा पालिकाहरुमा स्वयंसेवक खटाएरै काम गरिरहेको छ ।
अघिल्लो बर्षसम्म १२ जना स्वयंसेवकले टोलटोलमा गइ सिकाउने गरेको परियोजनाका संयोजक पन्तको दाबी छ । कार्यक्रमले अहिले तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा हेल्प डेस्कसहित काम गरिरहेको छ । तर रुपन्देहीका सवै क्षेत्रबाट परामर्श र सहयोगका लागि आउने गरेको र आफुहरुले आउनेहरुलाई सेवा दिइरहेको पन्तले बताइन् ।
आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका जम्मा समस्या १ हजार २७ छ भने समाधान भएका उजुरीका संख्या ९५१(९२.६०) प्रतिशत, समाधान हुन नसकेका संख्या ५७ (५.५५) प्रतिशत र बाँकी प्रकृयामा रहेका १९ (१.८५ ) प्रतिशत रहेको परियोजनाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । तथ्यांकअनुसार सवैभन्दा बढी सेवा दिई बुटवल उपमहानगरपालिका र दोस्रोमा धेरै सेवा लिनेमा तिलोत्तमा नगरपालिकाका रहेका छन् । तिलोत्तमामा ८ हजार भन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ ।
यो कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन, इलाका प्रशासन र विभिन्न पालिकाहरुमा काम भै रहेको कार्यक्रमले जनाएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास(स्वीस इन्टर अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन सामी’ परियोजना जिल्लामा प्रभावकारी बन्दै गएको हो । नेपाल सरकारले संचालन गरेको यो परियोजनालाई सामीले प्राविधिक सहयोग पुर्याउँदै आएको छ । कार्यक्रमलाई व्यापक बनाउनका लागि स्वयंसेवकहरु थप्ने र स्थानीय संचारमाध्यमलाई परिचालन गर्ने गरी तयारी गरिरहेको छ ।