© २०२३
नेपालगञ्ज, ५ जेठ ।
बाँकेको कोहलपुर नगरपालिकामा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माण सम्पन्न भई परीक्षण गरिएको छ । शिलान्यास भएको सात महिना १६ दिनमा आइतबार अत्याधुनिक सुविधासहितको शवदाह गृहको सफल परीक्षण गरिएको हो । कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक दलहरूको उपस्थितिमा भएको शवदाह गृहको परीक्षणका क्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकामा शवदाह गृह निर्माणले अव पूर्णता पाएको बताइन् । पहिलो चरणमा मेसिनको सफल परीक्षणसमेत भएको भन्दै उनले खुसी व्यक्त गरिन् ।
‘यो समग्र कोहलपुरवासीको लागि खुसीको क्षण हो, उनले भनिन् –‘यहाँका स्थानीयलाई शवदाह गर्न सहयोग पुगोस् र मलामीहरूलाई पनि सहज होस् भन्ने उद्देश्यले यो निर्माण गरिएको हो ।’ यसमा धेरै क्षेत्रको राम्रो सहयोग रहेको बताउँदै उपप्रमुख सुवेदीले भनिन् ‘बैंक तथा वित्तीय क्षेत्र, यहाँका सहयोगी दाता र निर्माण उपभोक्ता समिति धन्यवादको पात्रका रूपमा रहेका छन् । उहाँहरूको सहयोग र अथक प्रयासका कारण एउटा गौरवको काम सम्पन्न भएको छ ।’ लुम्बिनी प्रदेशमै शवदाह गृह बनाउने पालिकामा कोहलपुर नगरपालिका पहिलो बनेको छ ।
विगतमा शवदाहका लागि कोहलपुर नगरवासीलाई ४२ किलोमिटर टाढा राप्ती सोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह कोहलपुरवासीको दीर्घकालीन सपना रहेको बताउँदै निर्माण कार्य समयमा सम्पन्न भएकामा खुसी व्यक्त गरे । करिब १ करोड २५ लाख रुपैयाँ अनुमानित लागतमा निर्माण भएको शवदाह गृहले अब कोहलपुर मात्र नभएर राप्ती सोनारी, बैजनाथ, जानकी र नेपालगन्ज क्षेत्रका नागरिकलाई समेत सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको बताए । उनले भने, ‘जनसहयोगमा सम्पन्न यस कार्यले कोहलपुरलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास लिइएका छौं ।’
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीतिमा शवदाह गृह निर्माणलाई प्राथमिकता दिंदै प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा कार्यपालिका बैठक बसेर वडाध्यक्षहरू तथा इन्जिनियरको सहभागितामा शवदाह गृह निर्माण स्थल पहिचान समिति गठन गरियो । समितिले सात स्थानको अध्ययन गरी कोहलपुर–११ स्थित डुडुवा–रोहिणी खोलाको क्षेत्रलाई उपयुक्त स्थानको रूपमा सिफारिस ग¥यो । कोहलपुर उद्योग ब्यापार संघका पूर्व अध्यक्ष तथा व्यवसायी चक्र अधिकारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन तथा निर्माण उपभोक्ता समिति गठन गरि असोज १९ गते नगर प्रमुख आचार्यले धार्मिक विधिअनुसार शिलान्यास गरेपछि निर्माण कार्य तीव्र गतिमा अघि बढेको थियो ।
संयोजक चक्र अधिकारीका अनुसार, मेसिनको परीक्षण सफल भएको छ र केही दिनमै उपभोक्ता समितिबाट नगरपालिकालाई हस्तान्तरण गरिनेछ । नगरपालिकालाई शव वाहनको व्यवस्था तथा सञ्चालन कार्यविधि निर्माणका लागि सुझाव दिइसकिएको छ । निर्माण समितिका सचिव तुल्सीप्रसाद आचार्यका अनुसार हालसम्म कुल ८७ लाख रुपैयाँ संकलन भई ६७ लाख रुपैयाँ खर्च भइसकेको छ । एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख सहयोग गरेका छन् भने दुगड समूहले प्रतिक्षालय निर्माण गरिदिएको छ । बाँकी रकम अन्य संघसंस्था र व्यक्तिको सहयोगबाट संकलन गरिएको हो ।
हाल दुई वटा प्रतिक्षालय, तीन शौचालय, तीन स्नान गृह, सिँढी, धारा आदि संरचना निर्माण भइसकेका छन् । अब शवदाह स्थलसम्मको बाटो पीच गर्ने, महादेवको आकृति र ढुंगेधारा निर्माण कार्य बाँकी रहेको सचिव आचार्यले जानकारी दिए । शवदाह गृहमा युरो टेक नेपालका पशुपति आचार्यको समूहले मुख्य मेसिन जडान गरेको हो । परम्परागत दाउराबाट शवदाह हुने यस मेसिन एक घण्टामा शवदाह गर्न सक्षम छ र पूर्णतः प्रदूषणरहित छ । शवदाह गृहको ५ सय मिटर पर किरियापुत्री भवनसमेत निर्माण गरिएको छ । निर्माण उपभोक्ता समितिका सचिव आचार्यले आफूहरूले देशभर यस्तो काम गरिरहेको भन्दै बाँकेका अन्य स्थानीय तहलाई पनि ब्यवस्थित शवदाह गृह निर्माण गर्न सुझाव दिएका छन् ।