© २०२३
चन्द्रौटा, ०४ जेठ ।
कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्र बुद्धभुमि नगरपालिकाका किसानहरूले वर्षौंदेखि बगरे खेती गर्दै आएका छन् । तरबुजा उत्पादनको मुख्य सिजन चलिरहँदा पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । भारतीय बजारले स्थानीय कृषि बजारलाई प्रभावित पारको छ । किसानहरू भने आफ्नै उत्पादनको उचित मूल्य नपाएर निराश छन् । भारतीय उत्पादनको अत्यधिक आयात र बजार कब्जा भएकाले स्थानीय तरबुजा बिक्रीमा बाधा पुगेको किसानहरूको गुनासो छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर–१०, मोतिनगरका किसान गंगासागर केवटले भनेः “पुर्खाैंदेखिको पेशा हो कृषि । आत्मनिर्भर रहेको स्थानमा लामो समयदेखि बगरे खेती गर्ने आएका छौँ । यहाँ भारतीय सीमा नाका नजिकै भएकाले बजार व्यवस्थापनको कमी छ । यतिबेलाको सिजन हो तरबुजाको जुन उत्पादन भएपनि खपत भएको छैन् । भारतीय व्यापारीले हस्ताक्षेप गरेका छन् ।” उनले बगर खेतीमा तरबुजा, लौका, करेला, बोडी, भिन्डी लगायत वस्तुहरू उत्पादन भएको बताए । अहिलेको सजिन भनेको तरबुजा हो, तर तरबुज बजार बिक्रीको लागि जाँदा बजार मूल्य नपाएको गंगासागरले गुनासो गरे । यतिबेला बजारमा भारतीय तरबुजा फालाफाल रहेको बताउँदै भारतीय व्यापारीहरू भारतकै तरबुजा बिक्र गर्दा स्थानीय उत्पादनले बजार मूल्य नपाएको उनले बताए ।
गंगासागर केवट
आफूहरूले बिक्री गर्ने स्थानमै उनीहरूले नै कब्जा गरेर रामघाटको स्थानीय बजारमा किसानले ३० रूपैया प्रतिकिलो बेच्दा पनि बिक्री न्यून रहेको गंगासागरको भनाई छ । त्यहि स्थानमा भारतबाट ल्याएका तरबुजालाई नेपालको स्थानीय उत्पादन भनेर ५० देखि ६० रूपैया प्रतिकिलो बेच्दा पनि दिनहुँ सायौँ किलो बिक्री गरिरहेको किसान केवटले बताए । आफ्नो मात्रै नभएर सबै किसानको समस्या रहेको जनाउँदै स्थानीय सरकारसँगै सम्बन्धित निकायले कुनै चासो नदेखाएको उनको गुनासो छ । अर्की किसान ज्ञानमती केवटको परिवारले एक दशकदेखि बगरे खेती गर्दै आएको उनी बताउँछिन् । उनले तयार भएको तरबुजाले बजार भाउ नपाएकोे दुखेसो पोख्दै भनिन्: “लगानी समेत उठ्न सकेको छैन् । नेपाली उत्पादनका फलफुल तथा तरकारी तयार हुँदा भारतीय उत्पादनका वस्तुहरू सस्तोमा बिक्री हुँदा स्थानीय उत्पादनले बजार भाउ नपाउँदा किसान मर्कामा पर्ने गरेको छौँ ।”
ज्ञानमती केवट
यस्तै स्थानीय कृषक पञ्कज केवटले स्थानीय बजारमा बाहिरी उत्पादनका तरबुजा लगायत तरकारीहरू भित्रिदाँ सस्तो भएपछि आफूले उत्पादन गरेका तरकारीहरू गाई वस्तुलाई दानको रूपमा खिलाउनु पर्ने बाध्यता रहेको उनले बताए । भारतीय उत्पादनका वस्तुहरू व्यापारीहरूले ठूलो परिणाममा राख्ने र स्थानीय उत्पादन भनेर बेच्दा स्थानीय उत्पादनसँगै किसान मर्कमा पर्ने गरेको केवट बताउँछन् । सरकारले मल र सिँचाई लगायतको समयमा व्यवस्थापन गरिदिए बगरे खेती प्रभावकारी हुने उनको भनाई छ । करिब २० कठ्ठा क्षेत्रफलमा बगरे खेती रहेको बताउँदै मुख्य आम्दानीको पाटोलाई घरपरिवार सबै यसै पेशामा जिविका चलाउँदै आएको हुनाले सरोकारवालाले ध्यान दिन जरुरी रहेको जनाए ।
पञ्कज केवट
यता बुद्धभूमि नगरपालिकाका कृषि विकास अधिकृत देबिराम बेल्वासेले किसानहरूले भोगिरहेको समस्यालाई गम्भीर रूपमा लिइएको बताए । कृषकहरूको उत्पादनलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै उनले भने, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति बनाएका छौँ, तर त्यसको कार्यान्वयनमा चुनौती छन् । बजार अनुगमन र सीमावर्ती क्षेत्रमा विदेशी उत्पादनको नियन्त्रणमा कडाइ गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।”
देबिराम बेल्वासे
नगरपालिकाका कृषि विकास अधिकृत