© २०२३
गुल्मी, ०४ जेठ ।
बिहानीको फिरफिर उज्यालोसँगै बेलुका अबेरसम्म उनको समय खेतबारीमै बित्ने गर्दछ । खेतभरी रोपेका हरिया काँक्रा टिप्ने, गोडममेल गर्ने र तरकारीका नयाँ बिरुवाहरू रोप्ने कामले उनलाई कतिबेला रातपर्छ पत्तै हुँदैन । दिउँसोको टण्टालापुर घाममा पनि उनी रुमालले निधारबाट तपतप गर्दै झरेको पसिना हातले पुछ्दै आफ्नो कृषि कर्ममा सधै यसरी नै रमाइरहेका हुन्छन ।
यी व्यक्ति हुन जिल्लाको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्का ४० वर्षीय युवा कृषक बिष्णुप्रसाद भण्डारी । भण्डारी जिल्लामै एक व्यावसायिक युवा कृषक मध्यमा राम्रो कृषकमा गनिन्छन । रोजगारीको खोजीमा विदेशीएका युवाहरूका लागि उनले गाउँमै कृषिकर्म गरेर सबैको उदाहरणीय पात्र बनेका छन । उनले “मेहनत गर्ने हो भने, माटोमै सुन फलाउन सकिन्छ” भन्ने गतिलो पाठ सिकाएका छन । पैसा कमाउन सकिएन भनेर निराश बन्नेहरूलाई यसरी परिश्रम गर्नुपर्दो रहेछ भन्ने उत्प्रेरणा जगाएका छन ।
गाउँको मध्यम परिवारमा जन्मेका भण्डारी एसएलसी पास गरेपछि गाउँमै बसे । आफूहरू जस्ता कैयन युवा साथीहरू विदेशिदा पनि उनी गाउँमै बसेर केही गर्नु पर्छ भन्ने सोंच राखे । उनलाई विदेशको नसा भन्दा गाउँको बाँझीएको खेतबारी हराभरा बनाउने सपना सजाए । त्यही सपनालाई साकार पार्दै उनले यतिबेला आफ्नो ४५ रोपनी बाँझो जमीनलाई जोतेर यतिबेला तरकारी खेती गरेर हरियाली बनाएका छन् ।
२०७२ सालमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीमा “पुर्णिमा कृषि फर्म” दर्ता गरेर उनले गाउँमा व्यवसायिक रूपमा तरकारी खेती गर्न शुरु गरेका हुन ।
भण्डारीको कृषि फर्ममा पुग्ने जो कोही पनि यतिबेला उनले गरेको मेहनतलाई देखेर आफैमा दङ्ग पर्ने गर्छन । ४५ रोपनी जग्गामा यतिबेला काँक्रो, घिरौला, लौका, करेला लगायतका विभिन्न तरकारीहरू लटरम्म फलेका छन । भण्डारीले यतिबेला धेरै मात्रमा काँक्रो उत्पादन गरका छन । उनले दैनिक रूपमा १० क्वीण्टल काँक्रो उत्पादन गरी बजारमा पुराउँछन । उनको काँक्रो सदरमुकाम तम्घास बजारमा मात्र दैनिक सात क्वीन्टल भन्दा बढी बिक्री हुने गर्दछ भने तीन क्वीण्टल स्थानीय बजारमा खपत हुँदै आएको छ ।
उनले थोकमा एक सय रूपैँयामा बिक्री गरेको काँक्रो बजारका तरकारी पसलसम्म आईपुग्दा एक सय ५० रूपैंयासम्म पर्ने गर्दछ । विवाह, महोत्सव तथा पाठ पूजाको समयमा बजारमा काँक्रोको माग अझ धेरै हुने गर्दछ । भण्डारीले यस पटक ४०० क्वीण्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन । उनले अहिले एक हजार बोट बेमौसमी काँक्रोका थप बोट लगाइसकेका छन । पुस महिनामा रोपेको काँक्रोले उत्पादन दिन शुरु गरेपछि यतिबेला बजारमा गैरहेको छ । माघ र फागुन महिनामा लगाएको काँक्रो बिक्रीका लागि खेतमा तयारी अबस्थामा छ ।
भण्डारीले असार महिनासम्म काँक्रो बिक्री हुने गरेको बताए । काँक्रोबाट मात्र यस पटक ३० लाख भन्दा बढी आम्दानी गर्ने भण्डारीको अपेक्षा छ । गर्मी सिजन शुरु भैसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन । “त्यसैले बजारमा माग धेरै छ, दैनिक दस क्वीण्टल निकाल्दा पनि माग पुराउन धौधौ भएको छ,” उनले भने ।
उनले स्थानीय भक्तपुरे लोकल काँक्रो उत्पादन गर्दै आईरहेका छन । स्थानीय भक्तपुरे भनेपछि देख्दा पनि राम्रो देखिने र खाँदा पनि स्वादिलो हुने भएका कारण बजारमा यो काँक्रोको माग धेरै हुने गरेको उनले बताए । “पाल्पा, बुटवल, काठमाडौं लगायतका ठाउँबाट पैसा पहिले पठाईदिन्छौ काँक्रो पठाउनु प¥यो भनेर फोन गरिरहनु भएको छ तर स्थानीय बजारमा पु¥याउन समेत हम्मेहम्मे छ, कसरी पठाउनु र बाहिर” भण्डारीले भने ।
उनलाई घर परिवारको पनि पूर्ण साथ मिलेको छ । घर परिवारका चार जना सदस्य सहित भण्डारीको तरकारी फर्ममा दैनिक आठ जनाले दिनहुँ काम गर्दै आएका छन । भाइ नरेश भण्डारीको सहयोगले उनलाई काम गर्न हौसला मिलेको छ । दुइ दाजुभाई एक आपसमा सल्लाह गरेर काम गर्दै आएका छन् । समयमा उत्पादन गर्न सक्ने हो भने बेमौशमी तरकारी खेतीमा राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
“सिजनमा सबैले उत्पादन गर्ने हुँदा उत्पादन बढी हुने र माग कम हुने भएका कारण बजारले राम्रो मूल्य पाउन सक्दैन र कहिलेकाहीँ त लगानी समेत नउठ्ने हुँदा राम्रो मूल्य र सजिलै बजार पाउनका लागि मैले बेमौसमी काँक्रो र तरकारी उत्पादन गर्न शुरु गरेको हुँ” बिष्णुले भने ।
अनुदान थाप्न झोला बोकेर हिँडने फुर्सद छैन । भण्डारीले कृषि व्यावसाय शुरु गरेपछि अनुदानका लागि भनेर झोला थाप्न नगएको बताएका छन । आफुले गरेको कर्म देखेपछि कृषि ज्ञान केन्द्रले गत वर्ष सिँचाईका लागि केही सहयोग गरे पनि पालिकाकाट भने कुनै सहयोग नपाएको उनले बताए । “काम नगर्नेहरू अनुदानका लागि पालिका र कार्यालय कार्यालय धाउँछन तर मलाई त कामवाट फुर्सदै छैन, अनुदानको पछाडि लाग्नुकी आफ्नो कर्म गर्नु” उनले भने ।
पालिकाबाट कुनै प्राबिधिकहरू अहिलेसम्म आफ्नो फर्ममा नआएको भन्दै उनले वडा कार्यालयबाट हाते ट्याक्टर माग गरेर पनि त्यसको कुनै सुनुवाई नभएको गुनासो गरे । गाउँमा केही गरौं भनेर लागेका आफू जस्ता युवाहरूलाई स्थानीय सरकारले अझै पनि चिन्न नसकेको भण्डारीको भनाई छ । भण्डारीले तरकारी खेतीवाट वार्षिक ४५ देखि ५० लाखसम्मको कारोवार हुने गरेको बताएका छन ।
स्थानीय श्री सिद्धिविनायक कृषि तथा पशुपन्छी फर्मका सञ्चालक डालप्रसाद पन्थी भण्डारीको कृषि कर्मलाई मुक्त कण्डले प्रशंसा गर्छन । रोजगारीका लागि विदेश जानु भन्दा गाउँमै केही उद्यम गरेर बाहिर जाने पैसालाई भण्डारीले यही लगानी गरेको पन्थीले बताए । तराईबाट विषादि प्रयोग गरेर ल्याएको खानु भन्दा गाउँमै स्थानीय उत्पादन खान पाएको भन्दै खुसि व्यक्त गरे । “जिल्लामा यस्तै कृषि गर्ने युवाहरू अली हुने हो भने गाउँमै केही गर्न सकिन्छ, भण्डारीले कृषि गरेपछि मेरो कुखुराको मल पनि बिक्री भयो, बोरा बिक्री भयो, गाउँको पैसा गाउँमा रह्यो कति राम्रो” पन्थीले भने ।
पछिल्लो समयमा गाउँमा कृषकहरूलाई बाँदर, वनेल, दुम्सी जस्ता वन्यजन्तुहरूले वालीनालीमा हानीनोक्सानी गर्दै गएको अबस्थामा छ । तर भण्डारीले भने उक्त समस्या त्यत्ति नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन । भण्डारीको लोभ लाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट कृषकहरूलाई थप आसाको दियो बालिदिएको छ ।