© २०२३
बुटवल, ४ जेठ । प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२ मा न्यू होराईजन बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा आईतबार भएको उद्घाटन खेलमा न्यू होराईजनले गार्गी एकेडेमीलाई १११ रनले बिशाल अन्तरले पराजित गरेको हो ।
नरेनापुर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोज्दै न्यू होराईजनले निर्धारित १५ ओभरमा १४६ रनको लक्ष्य खडा गरेको थियो । खराब शुरुवात गरेको होराईजनका मध्यम क्रममा ब्याटरहरु टिक्दा खेलमा जित निकाल्न सफल भयो । छैटौ नम्बरमा मैदान छिरेका सिद्धार्थ ढकालले खेलमा अर्धसतकिय पारी खेलेका थिए । उनले चार चौका र चार छक्काको मद्यतले १९ बलमा ५२ रन जोडे । सातौ नम्बरमा ब्याटर समिर ठकुरीले २० रनको योगदान दिए । गार्गी एकेडेमीका शिभया दर्लामीले ३ तथा अप्सन जिसी र आयुष खत्रीले समान २–२ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको गार्गी ७.५ ओभरमा केवल ३५ रनमा समेटियो । ओपनर सुजल बश्यालले १० तथा अप्सन बिक्रम जिसीले २१ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न होराईजनका प्रिन्स पालले ४ तथा शुभम पाण्डेले ३ बिकेट लिए । खेलमा न्यू होराईजनका प्रिन्स पाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले एम्पायरलाई बल तथा ब्याट हस्तान्तर तथा ब्याटिङ गरेर उद्घाटन गर्दै बुटवल खेलको हब बन्नेमा दुईमत नरहेको बताए । बुटवलमा पूर्वाधार विकास र खेल प्रतियोगितालाई संगसंगै लग्ने गरि पालिकाको योजना रहेको उनले बताए । देशकै नमुना र उत्कृष्ट क्रिकेट मैदान बनाउने गरि नरेनापुरको काम अघि बढाएको उनले बताए । ‘यो वर्ष ७५ लाख रुपैया बजेट बिनियोजन गरेका छौ ।’– उनले भने । यसैगरि थप पूर्वाधार बनाउन संघ सरकारसंग समेत ५ करोड रुपैया माग भएको उनले बताए । यस क्षेत्रलाई खेलबाट चिनाउने गरि सपना बुन्न आवश्यक रहेको उनले बताए । यसबाहेक बुटवलमा थप २ वटा क्रिकेट मैदान आवश्यक रहने भन्दै यो मैदान पहिलो प्राथमिकतामा राखेर तिब्र रुपमा काम अघि बढ्ने बताए ।
कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले विद्यालय स्तरमा खेलकुद शिक्षक राख्ने परिपार्टीको पछिल्लोसमय विकास भैरहेको भन्दै यसबाट खेल विकासमा महत्वपुर्ण टेवा पुगेको बताए । हरेक ब्यक्ति खेलमा आवद्घ भएमात्र खेल बुझने उनले बताए । विद्यालयस्तरको खेलाडी उत्पादन गर्न लक्ष्यसहित कार्यक्रम महत्वपूर्ण भएको बताए । क्रिकेटको क्रेजलाई मध्येनजर गरि युवा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेको भन्दै उनले आगामी दिनमा एकेडेमी संचालन गरेर खेलाडी उत्पादनको तयारीमा आफुहरु लागेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले बताए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमले प्रतिस्प्रर्धा गर्नेछन ।