Butwal Today

सहकारी ठगीमा रकम फिर्ता गरे जेलमुक्ति सम्भव हुनुपर्ने सांसद आचार्यको प्रस्ताव

४ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्न सकिने प्रस्ताव अघि सारेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले सहकारी समस्यालाई थुनेर मात्र समाधान गर्न नसकिने भन्दै कानुनी रुपमा लचिलो, तर परिणाममुखी उपाय आवश्यक भएको धारणा व्यक्त गरे।

उनले ठगीका अभियुक्तहरूले छ महिनाभित्र सम्पूर्ण पीडितलाई रकम फिर्ता गर्ने कबुलनामामा हस्ताक्षर गरे जेलमुक्त गर्न सकिने र तोकिएको समयावधिभित्र रकम फिर्ता गर्न नसकेमा भने कडा कानुनी कारबाही गरिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।

सांसद आचार्यले सहकारी क्षेत्र अहिले देशको आर्थिक स्थायित्वमा ठूलो चुनौती बन्दै गएको उल्लेख गर्दै यसका समाधानका लागि नीतिगत र कानुनी पुनरावलोकन अपरिहार्य रहेको तर्क गरे। साथै, उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सहकारी क्षेत्रप्रति स्पष्ट र प्रभावकारी नीति ल्याउनुपर्ने माग पनि उठाए।