© २०२३
अर्घाखाँची, ०३ जेठ ।
नेपालका १०० धार्मिक पर्यटकीय गन्तव्य मध्येको एक प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको महिमा तथा प्रचारप्रसारका लागि भजन बजारमा आएको छ । अर्घाखाँचीका कलाकार मोतिराज खनालको शब्द, लयमा बजारमा आएको हो । जय जय भगवती सुपादेवी देउरालीकी माई अर्घाखाँची देवभूमिलाई, तिम्रो शक्ती खोजेर नपाई जय जय भगवती सुपादेवी देउरालीकी माई फूलपाती अक्षता चढाई, देवी तिम्रै आरती गाई जय जय भगवती, सुपादेवी देउरालीकी माई
लगायतका सुपादेउराली मन्दिरको महत्व, लाहुरे टाँसिएको भिर लगाएत मन्दिरको ईतिहासका बारेमा शव्दहरू भजनमा समेटिएको छ । सुपादेउराली माईकी एल्बमबाट बजारमा ल्याइएको भजनमा मोतिराज खनाल र शेषनारायण पोख्रेलको शब्द रहेको छ । मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लय, स्वरमा मोतिराज खनाल, शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ्गको रहेको छ । एरेन्ज विश्वास नेपाल रहेको भजनमा चर्चित हास्यकलाकार सुरविर पण्डित (दारी बा), शर्मिला खड्का, अनिशा खड्का, लेखान्त भुसाल लगायतको अभिनय रहेको छ । निर्देशक सुरज खनाल र कोरियोग्राफर शिवजी क्षेत्रीको रहेको छ । भजन मोतिराज खनाल अफिसियल युटुव च्यानलबाट बजारमा आएको छ ।
अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो । शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।
सुपादेउरालीमा भारतसहित छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रूपन्देही, प्यूठान, दाङ, बाके, बर्दिया लगायत देशभरबाट तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा खासगरी वैशाख, जेठ, भदौ, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन, चैतमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
भाकल र पूजापाठ गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण दैनिक हजारौँको संख्यामा भक्तजन आउने गर्छन । सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्गबहादुर जन्मेको मथुरादरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, दुर्वाशेश्वर गुफा, सिद्धेश्वर गुफा धातिवाङ्ग, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार रहेको छ तर, त्यसरी विकास हुन सकेको छैन् ।
भारत र नेपालको तराईबाट दैनिकजसो पहाड चढेर शीतलता लिने, बास बस्ने र पहाडका हरियाली मनोरम दृश्यावलोकन गरेर आनन्द लिने यतिबेला पहाड पर्यटकको रोजाइ बनेको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।
किंवदन्तीअनुसार खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपादेउराली मातासँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गएको र भारत बसाइमा उनले राम्रै धन कमाएर फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जाँदा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आएका धेरै भक्तजनहरूका लागि लाहुरे टाँसेको पहाड पनि निकै आकर्षण बनेको छ ।