© २०२३
बुटवल, ०३ जेठ ।
समुन्द्र घिमिरे ३४ वर्षका पुगे । आफ्ना दुई सन्तानसँगै घर परिवार हेर्ने उनमा जिम्मेवारी छ । कक्षा १२ पढेका घिमिरेलाई अरूले भन्दा केही नयाँ गर्नुपर्छ भन्ने सानैदेखिको हुटहुटीले उनी विदेशसम्म पु¥यायो । दुवईको एक कम्पनीमा करिब सात वर्षको कामपछि पैसासँगै पाँच वर्ष अघि उनी नेपाल आए । सँगै नेपालमै केहि गर्न सकिन्छ भन्ने हिम्मत, सिकाई र अनुभव संगालेर । के गर्ने, टुंगो थिएन तर जे गर्छु नेपालमै गर्छु भन्ने अठोट भने थियो । आर्थिक क्रान्ति कृषिबाट गर्न सकिन्छ र त्यो गाउँबाट सकिन्छ कि भन्ने उनको मनमा थियो । तर गाउँ छाडेर शहर भित्रिरहेको अवस्थामा गाउँ फर्कनु सहज थिएन । परिवारका सदस्यहरूले पागल त भइनस भन्न थाले । विदेशमा गरेको कमाई राम्रो उतै गएर कमाए राम्रो हुन्छ भन्ने सुझाव थियो परिवार अनि साथीभाइको पनि ।
तर मनभरी देशको माया बोकेर फर्किएका घिमिरेले आफनो मनलाई आफ्नै माटोमा लगाउने प्रतिवद्धताबाट पछि हटेनन । देश बन्नलाई पहिले गाउँ बन्नु पर्छ भन्ने उद्देश्य बोकेर उनी भन्दा चार वर्ष अगाडि पाल्पाको तिनाउ गाउँपालिका ७ को झ्याङ्गला देउरालीमा पुगेर गाउँले घर ब्राण्डमा व्यवसाय शुरु गरे । पाल्पाको डुम्रे बजारबाट ३ किलोमिटर पश्चिममा गाउँले घर छ । बरिपरि हरियाली चिसो हावा, मुलको पानी, पातला घर भएपनि नजिकै मन जोडिएको बस्ती छ । कलकल बगिरहेको डुम्रे खोला र हरियालीले जो कोहीलाई पनि लोभ्याउँछ ।
गाउँले घर पुगेपछि जहाँ लोप हुन लागेका पुराना सामानहरू देख्न सकिन्छ । स्थानीय वस्तुहरूलाई कलात्मक रूपमा सजाइएको छ । त्यहाँ स्थानीय लोकल खाना, कोदोको मम, केरा, सिस्नोको परिकारको स्वाद लिन पाईन्छ । विभिन्न विद्यालयका विद्यार्थी, संघ संस्थाका मानिस र चिसाको आन्नद लिन रूपन्देही नवलपरासी कपिलबस्तु लगायतका स्थानबाट दैनिक धेरै पर्यटकहरू भित्रने गरेका छन् ।घिमिरेले भन्छन्–‘जबसम्म युवाहरूले आफनै माटोमा रमाउन र कर्म गर्न सक्दैनन तवसम्म देश विकास समृद्धिको कुरा गर्नु फगत हो । म प्रकृतिमा जन्मेको मान्छे, मरुभुमिमा बस्न सकिन । त्यसैले गाँउ फकिएको हु । यहाँ जस्तो आन्नद कहाँ छ विदेशमा ।
यही आन्नदलाई व्यवसायसँग जोड्न खोजेको छु । चिसो हावा पानी र यहाँको सुन्दरतालाई बेच्न सक्ने हो भने पैसा यहाँ कमाउन र आफ्ने माटोमा रमाउन सकिन्छ भन्ने लाग्छ मलाई । त्यहि सोच हो मेरो यो सोचलाई समाज र परिवारका सदस्यहरू पागलपन भन्ने गरेका छन् तर पनि म आफनो मनले रोजेको काम र व्यवसायलाई सफल बनाएरै छाड्छु भन्ने विश्वास छ । चार वर्ष अगाडी कल्पना गरेको थियो अहिले काम भईरहेको छ । अझै धेरै काम गर्नु पर्ने छ । यहाँबाट नै कृषिमा काम गर्न बाकी छ शुरुवात हो बिस्तारै कृषि पनि जोडिने छ । पर्यटन र कृषिले यहाँको माटो सिचाई गर्न सके भने भविष्य उज्वल देखेको छु ।’
उनी भन्छन्–‘गुल्मीको मुसिकोट देउरालीबाट परिवार बुटवल झरे । म फेरी पाल्पाको देउरालीमा आए । यो पनि गज्जवको संयोग हो । मलाई माटोको माया छ । रितिदै गरेको गाँउको माया छ । त्यसैले विदेशको लामो बसाई र राम्रो पैसा छाडेर यहाँ आएको हुँ । अहिलेसम्म आफनो निर्णयमा खुशी छु । भोलीको दिनमा मेरो जस्तै माटोलाई माया गर्ने जमातहरू बढ्ने छन् । देशका विभिन्न पहाड र गाँउलाई माया गरेर गाँउ फर्कनेहरूको भिड लाग्ने छ । त्यो मेरो सपना हो तर अहिले मेरो सपना सुन्नेहरूले पागलको संज्ञा दिईरहेका छन् ।
हुन पनि मानिस शहर पसिरहेका छन् । म एक्लो मान्छेले गाँउ फर्क भनिरहेको छु । भिडमा एक्लो भएर पनि होला सबैले यस्तो भनेको तर पछि सबै युवाहरू यसरी नै गाउँलाई सिगार्न आईपुग्छन् विश्वास छ मलाई । म मेरा दुई साना सन्तानलाई पनि माटो र प्रकृतिसँग रमाउन सिकाउँछु कि भोलि उनीहरूलाई शहर र विदेश भन्दा गाउँ र यहाँको प्रकृतिले मोहनी लगाओस् । संभावना यही माटोमा छ भनेर सिकाउन बच्चालाई माटोमा खेलाउन सक्नु पर्छ । अनि मात्रै माटोलाई माया गर्छ र यहि भविष्य देख्छ । यो मेरो युवालाई गाँउ फर्काउने अभियान हो भन्दा फरक पर्दैन ।’
चार वर्ष अगाडी तिनाउको देउरालीमा घिमिरेले २० रोपनी जमिनलाई २० लाख रुपियामा किनेका हुन् । उनले १० रोपनीमा कृषि उत्पादन र १० रोपनीमा पर्यटकहरूका लागि आकर्षक स्थान बनाउने उद्देश्यले काम शुरु गरेका हुन्। करिव ५० लाख रुपियाँका भौतिक संरचनाहरू बनिरहेका सकेको घिमिरेले बताए । भौतिक संरचनासँगैे कृषि पनि आर्थिक उपार्जनसँग जोडिने भएकाले घिमिरेले १० रोपनी जमिनमा टिमुर,कागती,सुन्तला र सिर्जन अनुसारका तरकारीहरू लगाएर आम्दानीको बाटो फराकिलो बनाएका छन् । त्योसँगै पशु पालनका लागि पनि भौतिक संरचनाहरू बनाईरहेका छन् । अहिले माछा, हास र कुखुराको खोर समेत निर्माण शुरु गरेका छन् ।
घुम्न र रमाउन आउनेहरू यहाँ बास बस्न सक्दछन् । लोकल खाना, शान्त वातावरणमा योगा ध्यानसँगै कामको थकान मेटाईदिन्छ । यहाँ आउने एउटा पर्यटकले एक रात बसेर खाएर फर्किदा २५ सय देखि ३ हजार रुपियाँ सम्म खर्च गर्दछ । अहिले गाँउले चुलोमो १५ जना स्थानियबासीले रोजगारी पाएका छन् । उनको यो कर्म देख्दा मनबाट नै चाहना राख्न सके गाँउलाई पनि सिर्गान सकिन्छ । गाउँमै पनि आम्दानीको स्रोत बनाउन सकिन्छ । आफ्नै बाझाँ खेतबारीलाई हरियाली बनाउन सकिन्छ भन्ने प्रेरणा मिल्छ ।