© २०२३
पाल्पा, तिनाउको धेरै भाग चुरे क्षेत्रमा पर्छ । चुरे कान्छो पहाड हो । एक करोड १० लाख वर्षभित्र यसको निर्माण भएको मानिन्छ । यो पहाड माटो, गेग्रान, सिल्कनबाट निर्माण हुन्छ । अति नै कमलो पहाडको रूपमा यसलाई लिइन्छ । अतिवृष्टि अर्थात् न्यूनतम भन्दा धेरै पानी (मुसलधारे पानी) पर्दा चुरेको माटो बगेर जान्छ । त्यतिमात्र होइन, चुरेमा अति चरिचरन र अत्यधिक डढेलो लाग्दा समेत चुरेको माटो बग्दछ । यसैले चुरेमा ठूल्ठूला भौतिक संरचना निर्माण वर्जित छ । बाटो खन्दा होस् वा विकास निर्माणका अन्य कामहरू सञ्चालन गर्दा चुरेको संवेदनशीलता बुझ्नु पर्ने छ । चुरे क्षेत्रमा माटो कमलो हुने भएको हुँदा अदुवा, बेसार, केरा, दालचिनी, अम्रिसोजस्ता खेतीहरू मनग्य हुने गर्दछ । कारण, माटो खुकुलो र मलिलो हुने भएको हुँदा नै हो ।
तिनाउ गाउँपालिका वडा नं.१ को ओखलढुंगामा स्थानीय किसानहरूले अम्रिसोबाट प्रशस्तै पैसा आर्जन गरेका छन् । पाखोबारीमा लगाइएका अम्रिसो, गाउँलेहरूका लागि साँचिक्कै अमृत सावित भएको छ । स्थानीय ज्ञानोदय माविले समेत खाली सरकारी जग्गामा अम्रिसो खेती गरेर विद्यालयको शैक्षिक विकासमा योगदान पुराएको कुरा नयाँ होइन । सामुदायिक वन समन्वय समिति तिनाउको सहयोगमा गठित विद्यार्थी वातावरण क्लवले वन, वातावरण र जैविक विविधता संरक्षणका लागि अम्रिसो रोपण, अम्रिसोको कुचो बुन्ने र बेच्ने गर्दै आइरहेको सोही विद्यालयका शिक्षक लोकबहादुर सुनारी मगरले बताए । उनले भने– कुचो बेचेर आएको पैसाले विद्यालयको शैक्षिक विकासमा सहयोग पुगेको छ । तर पहिलाको तुलनामा यतिबेला अम्रिसो कम उत्पादन हुँदै गएको उनले सुनाए ।
सोही गाउँका युवा किसान हुन् सन्तोष घर्तिमगर । उमेरले २९ पुगेका सन्तोषले १२ पास गरेका छन् । गाउँकै ज्ञानोदय माविबाट २०६८ सालमा एसएलसी गरेका हुन् । साथै पाल्पा, छहराको भैरव नवदीप माविबाट जेटीए उत्तीर्ण उनी, आफ्नो ३० रोपनी पाखोबारीमा अम्रिसो खेती गर्दै आएका छन् । वर्षेनी उनको परिवारले अम्रिसोको कूचो बेचेर डेढ लाख रूपैयाँ आम्दानी गर्दै आइरहेको छ । सन्तोष भन्दैथिए– यसपालि कुचोले बजार पाएन । तीन वर्षअघि एउटा कूचोको मूल्य ९२ रुप्पेसम्म परेको थियो तर अहिले ५५ रुप्पेमा बेच्न परेको उनको दुखेसो कसले सुन्देला र ? एउटा कूचो बुन्न करिव पाँच मिनेट समय र १५ रुप्पेको बुन्ने सामग्री खर्चिनु पर्ने सन्तोषले सुनाए ।
उनी आफूसँग कूचो बुन्ने गतिलो सीप छ । तैपनि एक्लै बुनेर नभ्याइने भएकोले स्थानीयहरूलाई कूचो बुन्ने मौसमी रोजगार दिने गर्छन् । उनको परिवारले गतवर्ष अम्रिसोको गानो बेचेरमात्र डेढ लाख बढी रुप्पे कमाएका थिए । एउटा गानोलाई चार रुप्पे पर्दोरहेछ । कुचो हरदम प्रयोग हुने घरेलु सरसफाइको चीज हो । तर उचित मूल्यको अभावले किसान मर्कामा छन् । भारतीय बजार नपाउँदा कुचोले हावा खाने गरेको स्थानीय व्यापारी हेमलाल पाण्डेयले बताए । उनका अनुसार भारतीय बजारमा जान पाउने वर्ष कूचोबाट मनग्य आम्दानी हुन्छ । ओखलढुंगामा सन्तोषको परिवारलगायत कृष्ण, खुबहादुर, रीताका परिवारले समेत अम्रिसोखेती गर्दै आइरहेका छन् ।
ओखलढुंगा गाउँमा ५० को दशकमा तिनाउ जलाधार संरक्षण कार्यालय (तत्कालीन समयमा भू–संरक्षण कार्यालयले) ले पानीको मुहान संरक्षण गर्न र भू–क्षय रोक्नका लागि अम्रिसो रोपण सुरु गरेको थियो । सोही कामको निरन्तरता नै आजको अम्रिसोे खेती हो । गाउँलेहरूले अम्रिसोखेती गरेर घरव्यवहार चलाएका छन् । सन्तानलाई पढाइलेखाई गरेका छन् । विसञ्चो हुँदा औषधोपचार समेत अम्रिसो बेचेकै पैसाले गरेका छन् । यतिबेला गाउँलेहरूका लागि अम्रिसो आम्दानीको बाटो बन्दै गएको तिनाउ गाउँपालिका वडा नं.१, कचलका वडाध्यक्ष भुवानसिंह चिदीले बताए । उनले भने– ओखलढुंगा, ताल, मुर्थुङ्ग, बुढीकोटलगायतका गाउँहरूमा अम्रिसोखेती राम्रो हुने गरेको छ । यसैलाई उन्नत खेतीका रूपमा विकास गर्न सकेमा गाउँलेहरूको अर्थोपार्जनका बाटा फराकिला हुने थिए ।
उक्त गाउँमा तीनवटा सामुदायिक वनहरू छन् । सामुदायिक वनका खाली जग्गाहरूमा समेत स्थानीय उपभोक्ताहरूले अम्रिसो खेती गरेका छन् । समूहहरूले समेत अम्रिसोबाट आम्दानी गर्दै आइरहेको रिङसिङलेक सावउसका अध्यक्ष प्रेम नेपालीले सुनाए । गाउँमा अम्रिसो खेती बाहेक अन्य कोदो, पिंडालु, तरुल उत्पादन हुँदै आएका छन् । मौरीपालन र बाख्रापालन समेत राम्रो हुने गरेको छ । गाउँमा ओखलजस्तै ढुंगा पुरानो र नयाँ दुबै भएका कारण गाउँकै नाम ओखलढुंगा रहेको स्थानीयहरू बताउँछन् । बुटवलबाट उत्तरतर्फ पाँच किलोमीटर र दोभानबाट उत्तरदिशा १२ किलोमीटर दूरीमा रहेको ओखलढुंगा मनोरम एवम् सुन्दर गाउँ हो ।