© २०२३
सुनवल, २ जेठ ।
पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शुक्रबारअपरान्ह हावाहुरी सहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । घटनामा सुनवल नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार घटनामा सोही स्थानकी ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते हुनुभएको छ । उहाँहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई हावाहुरीले ढलेको ठूलो रुखले च्यापेको थियो । रूख प्रतिक्षालयमाथि ढलेपछि प्रतिक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ । शुक्रबार अपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तीव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।