© २०२३
बर्दिया,२ जेष्ठ ।
बर्दिया जिल्लाको आठ ओटा पालिका मध्ये सबैभन्दा कम बेरुजु रकम देखिएको राजापुर नगरपालिकामा रहेको छ । महालेखापरिक्षणको ६२ औँ प्रतिवेदन अनुसार जिल्लामा ०.३१ प्रतिशत मात्र बेरुजु रहेको छ जसनुसार एक अर्ब ८२ करोड १६ लाख ७२ हजार मध्ये ५६ लाख ४९ हजार रुपियाँ बेरुजु देखिएको छ । बर्दियामा सबैभन्दा कम बेरुजु आएकोमा खुसी व्यक्त गर्दै राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले नियम विपरित काम गर्न कर्मचारीलाई दवाव नदिएको कारणले बेरुजु रकम कम आएको बताए । उनले कानुन विपरित काम नगर्न पटक पटक कर्मचारीलाई निर्देशन दिइरहेको र आँफुले पनि त्यस्तो काम नगरेको कारणले बेरुजु रकम कम आएको बताए ।
त्यसैगरी सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकामा देखिएको छ । महालेखापरिक्षकको ६२ औँ प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकाको देखिएको छ ।
प्रतिवेदन अनुसार मधुवन नगरपालिकामा २.६० प्रतिशत बेरुजु रकम देखिएको छ । मधुवन नगरपालिकाको लेखापरिक्षण गरिएको रकम एक अर्ब ६४ करोड चार लाख ५८ हजारमध्ये चार करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ ।
त्यसैगरी गेरुवा गाउँपालिकामा १.८७ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा १.३७ प्रतिशत, गुलरिया नगरपालिकामा १.१८ प्रतिशत बेरुजु देखिएको छ । त्यसैगरी बारबर्दिया नगरपालिकामा ०.९९ प्रतिशत, बढैयाताल गाउँपालिकामा ०.५२ प्रतिशत, बाँसगढी नगरपालिकामा ०.५० प्रतिशत बेरुजु रकम देखिएको छ । मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटका अनुसार बेरुजु रकम पहिलेदेखि नै रहेकोले झन त्यसैमा थपिँदै आएको बताए । प्रक्रिया नमिलेका बेरुजु रकमहरूलाई प्रक्रिया पुर्याएर फस्र्यौट गर्दै लैजाने उनले बताए ।