© २०२३
गुल्मी, ०२ जेठ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लामा लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा जिल्लाको सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । लक्षित समुदायका परिवारहरुको आय आर्जमा वृद्धि गर्दै उनीहरुको जीविकोपार्जनमा सहयोग पुराउने उद्देश्यले दलित र सिमान्तकृत बर्गमा उक्त कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिएका छन ।
लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तरगत सत्यवती गाउँपालिका –३ स्थित ठूलोलुम्पेकमा आर्थिक रुपमा विपन्न रहेका दलित समुदायका २२ घरपरिवारलाई दश लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । कार्यालयले उनीहरुलाई उपलब्ध गराएको अनुदानबाट २२ वटा उन्नत जातका मुर्रा भैंसीका पाडीहरु खरिद गरि समुदायमा वितरण गरिएको छ । नवलपरासीबाट ल्याईएका उन्नत जातका प्रति पाडीको मूल्य ३५ हजार रुपैयाँ रहेको कार्यालय प्रमुख पाण्डेयले बताए । त्यसका अतिरिक्त समुदायका लागि गोठ सुधार, औषधी उपचार र भैंसी पालन सम्बन्धि तालिम समेत उपलब्ध गराईएको कार्यालयले जनाएको छ । कृषि तथा पशुपंक्षी विकास कार्यक्रम २०८१ अनुसार स्थानीय लुम्पेकी कृषि बहुउद्देश्य सहकारी संस्था मार्फत सत्यवतीमा दलित समुदायलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
लक्षित बर्गमा आधारित रहेर सञ्चालन गरिएका यस्ता प्रकारका कार्यक्रमले समुदायमा ठूलो टेवा पुग्ने र उनीहरुको आर्थिक अवस्था सुधारमा पनि थप सहयोग पुग्ने वडाध्यक्ष जितबहादुर त्रामु मगरले बताए । त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा चन्द्रकोट गाउँपालिका–७ स्थीत बोटे गाउँका सिमान्तकृत समुदायका लागि पनि दश लाख रुपैयाँ सहयोग उपलब्ध गराईएको छ । उक्त रकमबाट सिमान्तकृत समुदायमा बोटेमाझीका २० घरपरिवारलाई प्रति परिबार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइसकेको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए ।
उक्त रकमबाट २० जना बोटेमाझी परिवारलाई एक÷एक वटा जमुनापारी एवं स्थानीय जातका बाख्राहरु वितरण गरिएको छ । त्यसका अतिरिक्त कार्यालयले बाख्राका लागि आधुनिक किसिमको खोर निर्माण, विउबोका, घाँसका विरुवा, जुकाको औषधी, बाख्राका लागि भिटामीन तालिम समेत उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ ।