© २०२३
काठमाडौं ।
अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न माग गरेको छ। स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले एक विज्ञप्ति जारी गर्दै सरकार र विभिन्न विद्यार्थी सङ्गठनहरूबीच पूर्वमा सहमति भइसकेको यो छुट सुविधा अझैसम्म व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेकोप्रति आपत्ति जनाएका हुन्।
पोखरेलले सरकार र यातायात व्यवसायीहरूलाई सम्झाउँदै विद्यार्थीहरूले आन्दोलनबाट ल्याएको यस अधिकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा पनि कार्यान्वयन नगरिनु दुःखद र जनविरोधी भएको बताए। उनले विभिन्न रुटमा छुट नदिने सार्वजनिक यातायातको विवरण संकलन गर्न स्ववियु सक्रिय हुने बताउँदै सो विवरण स्ववियुलाई उपलब्ध गराउन सम्पूर्ण विद्यार्थी र सरोकारवालालाई आग्रह गरेका छन्।
विद्यार्थी परिचयपत्रका आधारमा प्रदान गरिनुपर्ने छुटबारे बारम्बार गुनासो आउँदा पनि राज्य र यातायात क्षेत्रको उदासीनताले विद्यार्थीलाई दिनहुँ अप्ठ्यारो भएको भन्दै स्ववियुले तत्काल कदम चाल्न सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराएको छ।