© २०२३
नवलपरासी, १ जेठ ।
बजार क्षेत्रमा आगलागीका घटनाहरु बढ्न थालेपछि उद्योग ब्यापार संघ बर्दघाटले सार्वजनिक रुपमा निशुल्क प्रयोग गर्ने गरी अग्नी नियन्त्रक यन्त्र राख्ने अभियान सुरु गरेको छ । बुधबार बर्दघाट बजारबाट अभियानको सुरु गरिएको हो ।
बर्दघाट बजारका ८ स्थानमा अग्नी नियन्त्रक यन्त्र राखिएको हो । यसैगरी जिमिरेभार भुताहा लगायतका क्षेत्रमा गरी तत्काललाई १५ थान स्प्रे राखिने जनाइएको छ । आगलागीका कारण उद्योगी ब्यापारी संगै जोसुकैले ठुलो धनजनको क्षति बेहोर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको उद्योग ब्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बताए । उनले सावैजनिक रुपमा निशुल्क प्रयोग गर्न सकिने भएकोले आग्लागीका घटना घटे तत्काल आफुलाई पायक पर्ने स्थानबाट अग्नी नियन्त्रक यन्त्र लगेर प्रयोग गर्न सकिने उल्लेख गरे ।
यो अभियानको थालनी उद्योग ब्यापार संघले सुरु गरे पनि सबैको साझा अभियान भएकोले यस अभियानमा जोडिन चाहने जुनसुकै संघ संस्था, ब्यक्तिहरु संग सहकार्य गर्न तयार रहेको भन्दै यसलाई सफल बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाई छ । संघमा आबद्ध उद्योगी ब्यबसायीहरुले आ–आफुले ब्यक्तिगत रुपमा रकम उठाएर अभियानको थालनी गरिएको उहाँले जानकारी दिए ।
आगजनी जन्य घटनाबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै अभियान संचालन गरेकोमा उद्योगी ब्यबसायी र आम सर्वसाधारणले खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा पनि उद्योगी ब्यबसायीका समस्या पहिचान गर्दै बजार चलायमान गराउने क्षेत्रमा आबश्यक कार्यक्रम गर्नकालागि ब्यसायीहरुले आग्रह गरेका छन् ।
संघको अभियानलाई समर्थन गर्दै विभिन्न स्थानिय ब्यवसायीहरुले सहयोग गरेका छन ।आगलागीका कारण जुनसुकै वेला क्षति हुनसक्ने खतरा रहेकोमा संघले चालेको अभियानले सहयोग पुग्ने ब्यवसायिहरुको भनाई छ ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष भरत कंडेलले उद्योग ब्यापार संघ बर्दघाटको अभियानमा आफुहरु पनि हातेमालो गर्ने बताए।
पहिलो चरणमा यन्त्रहरु राख्ने काम गर्ने र लगत्तै त्यसको प्रयोगका बारेमा बृहद कार्यक्रम आयोजना गरी डेमोस्ट्रेसन गरिने संघका बरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताए । न्यौपानेले यस अभियानमा सबैले हातेमालो गर्दै ब्यापक रुपमा अगाडि बढ्नेमा आफु आशावादी भएको बताए।
महासचिव नारायण भण्डारीले धेरै औपचारिक कार्यक्रम भन्दा छिटो छरितो ढंगबाट उद्योगी, ब्यबसायी र उपभोक्तामैत्री ठोस कामहरु प्राथमिकताका साथ गरिने जिकिर गरे ।
अभियान निरन्तर संचालन हुने र बर्दघाट बजार मात्र नभई चिसापानी, पञ्चनग, भटौलिया, जिमिरेभार, कुकुरमारा लगायतका क्षेत्रमा पनि अग्नी नियन्त्रक स्प्रे राखिने संघले जनाएको छ । अभियानमा जोडिन संघले आव्हान समेत गरेको छ ।