© २०२३
नेपाली राजनीतिले वर्षौसम्मको आन्दोलनको गौरवपूर्ण इतिहास कायमै राखेको छ । आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न नसक्दा र त्यसको मूल मर्मका साथ काम नहुँदा नेपाली जनतामा निरासाको बादल मडारिएको छ । २००७ सालदेखि २०८२ सम्म आईपुग्दा जनताकै लागि भन्दै धेरै सहादत भयो । धेरै आन्दोलनको आँधीबेहरी सिर्जना गरियो तर नेपाली जनताले न्याय पाउन सकेनन् । अर्थात परिवर्तनको अनुभूति हुने गरि काम भएको छैन । जनतामा व्याप्त असन्तुष्टी त्यसकै एक परिणाम हो भन्दा अत्युक्ति हुँदैन । पटक पटक भएको अभूतपूर्व राजनीतिक परिवर्तनलाई हामीले जनताको समृद्धि, सुशासन र सामाजिक न्यायसँग जोड्न नसक्दा अहिले मुलुक नै बिसंगतिको जाडोमा जकडिएको छ । राजनीतिक परिवर्तनले जनताको अवस्था फेर्न सकेको छैन ।
नेपालको राजनीतिले बिसंगति र बेथितिका अनुभवहरू जन्माएको छ । यो अवस्था आउनुमा हाम्रो राजनीतिसँग सत्य र निष्ठाको तागत बाँकी रहेन । नेताहरूमा जिम्मेवारीबोध देखिएन । राजनीति अनेकौँ भ्रमहरूको खेतीपातीमा फस्यो । अव जनताले नेताहरू सधैँ कुर्सीको लागि लड्नु नेपाली राजनीतिको साझा चरित्र हो भन्न थालेका छन् । नेपाली मध्यम वर्गले शक्ति र सम्पत्ति नेताहरूको कमजोरी हो भन्न थालेको छ । तीव्र विकास चाहनेहरू राजनीतिको गति, सिर्जनशीलता र शुद्धतामाथि शंका गर्न थालेका छन् । युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त छैन । कुरा मात्र गर्ने राजनीति अव युवाहरूले मन पार्नै छाडेका छन ।
सामाजिक न्यायको अपेक्षा गर्नेहरूलाई लाग्छ– यो विषयमा हाम्रा नेताहरू संवेदनशील छैनन् । निर्मला पन्तको हत्या भएको पाँच बर्ष भैसक्यो तर अपराधी पक्राउ पर्न सकिरहेको छैन । हरेक पटक सरकार परिवर्तन हुँदा निर्मला पन्तको हत्याको कुरा जोडिएर आउँछ । गृहमन्त्रीको पहिलो प्राथमिकतामै निर्मला पन्त हत्या प्रकरण छानविनको कुरा आउँछ तर पाँच बर्ष वितिसक्यो– हात लाग्यो शून्य भनेजस्तै भएको छ । यो देशमा कानुनी शासनको प्रत्याभूति खोई ? भन्ने प्रश्न उत्पन्न भएको छ ।
दुःखको कुरा नेपालको राजनीतिप्रति जनतामा अविश्वास बढ्दै गएको छ । वास्तवमा जनता र नेता नै विकासका सहयात्री हुन् तर दुर्भाग्य सहयात्रीबीच जब आशंका रहन्छन्, यात्रा सुखद हुँदैन । सुखद सहयात्राबिना गन्तव्यमा पुग्न सकिँदैन । अहिले हाम्रा जनप्रतिनिधिले जनताको मन जित्न सकिरहेका छैनन् । निर्वाचित हुनेवित्तिकै करोडौंका सुविधायुक्त बिलासी गाडी खरिद गर्ने प्रवृत्ति किन बढ्दैछ ? जनताले भोट के का लागि दिएका हुन ? जनप्रतिनिधिको यो विषयमा ध्यान पटक्कै गएको छैन ।
पछिल्लोसमय त स्थानीय पालिकाका मेयर उपमेयरलाई ‘छोटे राजा’ को संज्ञा दिन थालिएको छ । विकासमा केन्द्रित हुनुपर्नेमा जनप्रतिनिधिहरू बिलासितातर्फ प्रेरित हुन थालेका छन् । अहिले चर्को मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीनताले साधारण उपभोक्ता मारमा छन् । श्रमिक र कामदारहरूका सपना हरेक दिन जन्मन्छन् र मर्छन् ।
तर, समवेदना र सुविधा कतै छैन । यी र यस्तैगरी विसंगति फैलिदैछ तर त्यसको समाधान कत छैन । केवल निरासा मात्र छ । हुँदा हुँदा मुलुकको आर्थिक श्रोत रित्तिदै गएको भन्दै नयाँ आर्थिक बर्षको बजेट समेत खुम्चिने भएको छ । यो चिन्ताको कुरा हो । हरेक बेथितिका पछाडि साना–ठूला नेताको आडभरोसा छ । चुनावका वाचाहरू वास्तवमा भ्रममात्र थिए भन्ने कुरा अहिले छरपस्ट हुँदै गएका छन् । नेताहरूले जनताको विश्वास हासिल गर्न सकिरहेका छैनन । अव राजनीतिमा गुमेको दायित्व पुनस्र्थापित गर्नु जरुरी छ तर जनतामा टुटेको विश्वास र भरोस स्थापित होला भन्ने आशंका छ । अझैपनि समय छ । सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार बनोस् ।